काठमाडौं– सत्तारुढ गठबन्धनले गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्षता गरिरहेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। एमालेले निरन्तर संसद् बैठक अवरुद्ध गरिरहेका बेला संयन्त्रका संयोजक पौडेलले बुधबार ओलीसँग भेटवार्ता गरेका हुन्।
एमाले अध्यक्ष ओलीलाई भेट्न पौडेल बुधबार साँझ भक्तपुरको बालकोटस्थित ओली निवास गएका थिए। करिब १ घण्टा लामो भेटवार्तामा मुलुकको पछिल्लो समसामयीक राजनीतिक अवस्था लगायतका विषयमा नेताहरुबीच कुराकानी भएको ओलीका प्रेस संयोजक रामशरण बजगाइँले जानकारी दिए। ‘उहाँहरुबीच समसामयिक राजनीतिक घटनाक्रम र पछिल्लो समय संसद् र अदालतमा देखिएको विषयमा नै छलफल केन्द्रित रह्यो,’ उनले भने।
नेता पौडेल निकट स्रोतले भने प्रमुख प्रतिपक्षी दलको संसद् अवरोध निरन्तर जारी नै रहेका बेला उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकका हैसियतले संसद् अवरोध हटाउनेबारे कुराकानी भएको जनाएको छ।
‘निरन्तर रुपमा संसद् अवरुद्ध भइरहँदा त्यसले राम्रो सन्देश गएको छैन। संविधानमा प्रहार भइरहेको छ,’ पौडेलले ओलीलाई भने, ‘सबै जिम्मेवार राजनीतिक दलले सोच्नुपर्ने बेला हो। तपाईंले पनि यसमा गम्भीर भइदिनुपर्यो।’
भेटमा पौडेलले प्रधानमन्त्रीसँग पनि यस विषयमा छलफल गर्न सुझाएका थिए। जवाफमा ओलीले भने एमालेले कारबाही गरेका सांसदहरुको विषयमा निर्णय लिन सभामुखले अटेरी गरेको बताएका थिए। ‘हामीले कारबाही गरेका मानिसका बारेमा सूचना पनि नटास्ने र प्रतिपक्षी दललाई पेलेर नै अघि बढ्छु भनेर हिँडने सभामुख हटाउनुपर्छ,’ ओलीको भनाई उधृत गर्दै स्रोतले भन्यो, 'हामीले कारबाही गरेका व्यक्तिहरुको बारेमा सभामुखले निर्णय नदिएसम्म संसद् सुचारु हुन सक्दैन।’
दुई नेताहरुबीच लामो समयदेखि न्यायालयमा देखा परेको समस्याका बारेमा पनि गम्भीर कुराकानी भएको बताइएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै उनकै सहकर्मी न्यायाधीश र कानुन व्यवसायी आन्दोलनमा रहँदा त्यसको निकासका लागि राजनीतिक दलहरु गम्भीर हुन नसकेको आरोप लाग्दै आएको छ। यस विषयमा पनि ओली र पौडेलबीच गम्भीर रुपमा छलफल भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।