फाइल तस्बिर।
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले १३ जना केन्द्रीय सदस्य मनोनित गर्दा पार्टीको शक्ति सन्तुलन र परम्परा उपेक्षा गरेको बताएका छन्।
बुधबार शेखर कोइराला पक्षको बैठकबाट बाहिरिने क्रममा उनले मनोनित गर्नु विधान अनुसार सभापतिकै अधिकार भएको बताए। तर, सभापतिले नियुक्ति गर्दा आफूभित्रका शक्ति सन्तुलनदेखि न्यायोचित वितरण प्रणालीसम्म हेर्नुपर्ने उनको भनाइ छ। चौधौं महाधिवेशनमा सभापतिमा देउवालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपबाट सहयोग गर्नेहरु मात्रै मनोनित भएको उनले बताए।
'१३ जनामध्ये एक जना हाम्रो समूहबाट पदाधिकारीमा उठेर हारेका कुनै व्यक्ति परेका छन्?', प्रश्न गर्दै केसीले भने, 'त्यो दुःखद् कुरा हो। त्यसले हाम्रो एकताको प्रयासलाई अप्ठ्यारो स्थितितिर उन्मुख गराउने काम नेतृत्वले गरिरहेको छ।'
उनले आफूहरुको समूहलाई वैचारिक आन्दोलनको रुपबाट पार्टीभित्र विकसित गर्ने दृष्टिकोण रहेको बताए। 'सम्पूर्ण रुपमा सभापतिलाई सहयोग गर्न चाहन्छौं। तर, व्यक्तिलाई होइन, विधिलाई केन्द्रमा राखेर। पार्टीले सञ्चालन गर्ने विधि र प्रक्रियालाई केन्द्रविन्दु मानौं। नेता होइन, नीतिलाई प्राथमिकता दिऔँ। र, पारदर्शी रुपले कार्यसम्पादन गरौं', उनले भने।
उनले आफूहरुको समूहरुलाई रुपान्तरणकारी र वैचारिक भन्दै सो समूह चुनाव हार्दैमा नथाक्ने, नभाग्ने र आफ्नो लक्ष्यबाट विचलित नहुने बताए। 'कसैले पनि सहअस्तित्व र सहमतिलाई समर्पण ठानेको छ भने हामी समर्पण गर्दैनौं', उनले भने।
कांग्रेस सभापति देउवाले गत पुस १७ गते रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, डा नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका थिए। त्यस्तै, पुस १८ गते जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई मनोनयन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।