काठमाडौं– नेपाली कांग्रेसको हालै सम्पन्न १४औं महाधिवेशनमा पराजित सभापतिका उम्मेदवार शेखर कोइराला पक्षको बैठक सुरु भएको छ। बैठक बुधबार दिउँसो साढे २ बजेपछि अनामनगरस्थित होटेल बसेरामा सुरु भएको हो।
महाधिवेशनमा विभिन्न पदमा प्रतिस्पर्धा गरेका आफ्ना समूहका उम्मेदवारबीच समीक्षात्मक बैठक भएकाले अनिवार्य उपस्थित हुन आग्रह गरिएको थियो।
यसअघि मंगलबार शेखर पक्षका शीर्ष तहका नेताबीच छलफल भएको थियो। उक्त बैठकको निर्णय अनुसार थप छलफल गर्न आफूपक्षीय उम्मेदवारको बैठक बोलाइएको हो। अनुपम फुडल्याण्डमा बसेको शीर्ष नेताको बैठकले रामचन्द्र पौडेलले देउवालाई सघाएको निष्कर्ष निकालेको थियो।
सभापति देउवाले पहिलो र दोस्रो चरणमा केन्द्रीय समिति सदस्यमा एकलौटी रुपमा मनोनित गरेकोप्रति शेखरपक्षले असन्तुष्टि जनाएको छ। राष्ट्रिय सभाको निर्वाचनमा दलबाट बनाइएका उम्मेदवारका विषयमा पनि सल्लाह नभएको नेताहरूको गुनासो थियो।
मंगलबारको बैठकमा कोइरालाका साथै महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी र बलबहादुर केसी सहभागी थिए। त्यसैगरी, १४औं महाधिवेशनमा उपसभापतिमा पराजित चन्द्र भण्डारी र महामन्त्रीमा पराजित मिनेन्द्र रिजाल पनि बैठकमा सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।