काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी खुला राजनीतिमा आएको १ वर्ष पुग्न लागेको छ। २०७७ फागुनमा सरकारसँग ३ बुँदे सहमति गर्दै विप्लव नेतृत्वको नेकपा भूमिगत गतिविधि त्यागेर खुला राजनीतिमा आएको थियो।
भूमिगत हुँदा बहिस्कारात्मक गतिविधिले चर्चामा रहने गरेको विप्लव नेतृत्वको नेकपा अहिले भने राजनीतिक कार्यदिशाका विषयमा अलमलमै छ। झण्डै 'अजेण्डाविहीन' अवस्थामा रहेको विप्लव नेकपाले आगामी चुनावलाई पनि कसरी 'उपयोग' गर्ने भन्ने निर्णय गरिसकेको छैन।
निर्वाचन आयोगले आगामी वैशाख दोस्रो साता स्थानीय तहको निर्वाचन गर्नेगरी तयारी अगाडि बढाएको छ। चुनावका लागि भनेर मूलधारका सबै राजनीतिक दलहरुले पनि तयारी सुरु गरेका छन्। तर, विप्लव नेकपामा चुनाव जाने कि बहिस्कार गर्ने भन्ने विषयमा दुई लाइन देखिएको छ।
पार्टी कमिटीमा औपचारिक छलफल सुरु भइ नसके पनि चुनावलाई लिएर नेताहरु दुई कित्तामा विभाजित भएका हुन्। केही नेताहरु चुनावलाई उपयोग गरेर जनमत परीक्षण गर्नुपर्ने पक्षमा छन्। केही भने चुनाव बहिस्कार गर्नुपर्ने पक्षमा छन्।
नेकपाका एक केन्द्रीय सदस्यका अनुसार पार्टीको आगामी कार्यदिशाका विषयमा छलफल गर्न पुस अन्तिम साता केन्द्रीय कमिटीको बैठक बस्न लागेको छ। ती नेताका अनुसार आगामी केन्द्रीय कमिटी बैठकमा पेस गर्नका लागि अहिले महासचिव विप्लवले राजनीतिक प्रतिवेदन लेख्न लागेका छन्।
‘पार्टीको प्रतिबन्ध फुकुवापछि दोस्रोपटक केन्द्रीय कमिटीको बैठक बस्न लागेका छौं। आगामी बैठकले पार्टीको राजनीतिक कार्यदिशा र कार्यक्रम तय गर्ने छ। पार्टीले तय गर्ने राजनीतिक कार्यक्रममा नै निर्वाचनका सन्दर्भमा पनि उल्लेख हुनेछ,' ती केन्द्रीय सदस्यले नेपाल लाइभसँग भने।
विप्लव नेतृत्वको नेकपाका धेरैजसो नेताहरु अहिले काठमाडौंमा छैनन्। महासचिव विप्लव कपिलवस्तुस्थित आफ्नो निजी निवासमा छन्। आगामी केन्द्रीय कमिटी बैठक समेत उपत्यका बाहिर नै हुने नेताहरुको भनाइ छ। यसअघि केन्द्रीय कमिटीको बैठक तनहुँको बन्दीपुरमा बसेको थियो।
विप्लव चुनावमा जानु पर्ने पक्षमा
नेकपा महासचिव विप्लव चुनावलाई उपयोग गरेर जानुपर्ने पक्षमा छन्। पार्टीको जनमत परीक्षणका लागि पनि चुनावमा जानुपर्ने उनको धारणा छ। विप्लवसँगै प्रवक्ता खड्कबहादुर विश्वकर्मा 'प्रकाण्ड', सन्तोष बुढामगर लगायत नेताहरु चुनावको पक्षमा छन्।
एक्लै नभए पनि अन्य राजनीतिक दलसँग गठबन्धन गरेर भएपनि चुनावमा जानुपर्ने ती नेताहरुको मत छ। महासचिव विप्लव नेकपा माओवादी केन्द्रसँग तालमेल गरेर चुनावमा जानुपर्ने पक्षमा छन्। प्रकाण्ड लगायत नेताहरु भने अजेण्डा मिल्दा एमालेसँग पनि समीकरण गर्नुपर्ने बताउँदै आएका छन्।
महासचिव विप्लवले त चुनावमा जाने विषयमा आवश्यक रणनीति बनाउन भन्दै छलफल समेत अगाडि बढाइसकेका छन्। विप्लवले आफू निकट नेतासँग चुनावसँग सम्बन्धित रणनीति निर्माणका लागि छलफल अगाडि बढाएका हुन्।
केन्द्रीय सचिवालयका सदस्य धर्मेन्द्र बाँस्तोला, हेमन्तप्रकाश ओली लगायत नेताहरु भने चुनाव बहिस्कार गर्नुपर्ने पक्षमा छन्। संसदीय व्यवस्थाप्रति नै फरक मत राख्ने पार्टी भएकाले त्यही व्यवस्थाअनुसारको चुनावमा सहभागी हुन नसकिने ती नेताहरु तर्क छ।
उनीहरु संसदीय व्यवस्थाको विपक्षमा रहेको मतलाई उपयोग गर्ने गरी मोर्चाबन्दी गर्नेगरी अगाडि बढ्नुपर्ने अडानमा छन्। मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायत संसदीय व्यवस्थाको विपक्षमा रहेका कम्युनिस्ट पार्टीहरुसँग मोर्चाबन्दी गरेर जानुपर्ने ती नेताहरुको अडान छ।
नेकपाका सचिवालय सदस्य धमेन्द्र बाँस्तोला पार्टीले लिने राजनीतिक कार्यदिशाका विषयमा केन्द्रीय कमिटीले निर्णय गर्ने भएकाले अहिले नै चुनावमा जाने वा नजाने विषयमा धेरै विवाद आवश्यक नरहेको बताउँछन्।
‘आगामी चुनावलाई लिएर पार्टीमा विवाद छ भनेर अहिले नै भन्न मिल्दैन। चुनावका विषयमा कुनै कुरै आएको छैन,’ नेपाल लाइभसँग कुरा गर्दै बाँस्तोलाले भने,‘महासचिव कमरेडले प्रतिवेदन लेख्दै हुनुहुन्छ। कस्तो प्रतिवेदन ल्याउनु हुन्छ, त्यस विषयमा छलफल, बहस होला। त्यसपछि मात्रै चुनाव जाने/नजाने सबै विषय स्पष्ट हुन्छन्।’
तर, केन्द्रीय कमिटीका धेरै नेताहरु भने प्रदेश र स्थानीय तहको निर्वाचनलाई उपयोग गर्नुपर्ने पक्षमा छन्। चुनावमा जाँदा संगठन विस्तार हुने र जनतामाझ आफूहरुका अजेण्डालाई स्थापित गर्न सकिने उनीहरुको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।