काठमाडौं– आगामी माघ १२ गते तय भएको राष्ट्रिय सभा सदस्यको उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने कार्यसूची रहेको छ। मंगलबार मनोनय अवधिभरमा उम्मेदवारी दर्ता गराएका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ।
उम्मेदवारविरुद्ध कुनै उजुरी शुक्रबारसम्म उजुरीमाथि छानबिन हुने आयोगले जनाएको छ। २४ गते उम्मेदवारको नाम फिर्ता लिने समय तोकेको आयोगले २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयेगले जनाएको छ।
राष्ट्रिय सभामा गोलाप्रथामार्फत चारवर्षे कार्यकाल तय भएको २० सांसद आगामी २० फागुनमा बिदा हुँदै छन्। रिक्त रहनेमध्ये १९ जनाका लागि निर्वाचन हुन लागेको हो। एक जना भने राष्ट्रपतिका तर्फबाट मनोनीत हुनेछन्।
प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन्।
कुल १९ सिटका हुने निर्वाचनमा एमालेले सबै सिटमा उम्मेदवारी दर्ता गराएको छ भने सत्तारुढ गठबन्धनले १९ सिटमा साझा उम्मेदवार उठाएका छन्। गठबन्धनबाट कांग्रेसले ६ सिट तथा माओवादी र एकीकृत समाजवादीले ५/५ सिट पाएका छन्। जसपाको भागमा २ तथा राजमोको भागमा एक सिट गरी गठबन्धनले तालमेल गरेका छन्।
त्यसैगरी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले १ र नेपाल मजदूर किसान पार्टीले दुई सिटमा उम्मेदवार उठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।