काठमाडौं- नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आइतबार २३६ जना केन्द्रीय सदस्यको घोषणा गरे। २ सय ९९ मध्ये अब ६३ जना केन्द्रीय समितिमा मनोनयन हुन बाँकी छ। आज अपराह्न बस्ने माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको बैठकले बाँकी सदस्यहरुको चयन गर्ने तयारी गरेको छ।
केन्द्रीय समितिमा समावेशी, समानुपातिक प्रतिनिधित्वका लागि माओवादीले विभिन्न ९ कलस्टरमा विभाजित गरेको छ। आइतबार सबै क्लस्टरबाट केन्द्रीय सदस्य चयन गर्न नसकेपछि पुनःगृह कार्य गरेर पूरा गर्ने बताएको छ। पार्टीका २९९ केन्द्रीय सदस्यमध्ये खुलातर्फबाट ५० प्रतिशत र समावेशीतर्फबाट ५० प्रतिशत केन्द्रीय सदस्य समावेश गरिने छ।
समावेशीतर्फबाट कुल १४९ जना समेटिने भएका छन्। जसमध्ये खस आर्यबाट ४५, दलितबाट २२ , मुस्लिमबाट ७, मधेसीबाट २३, आदिवासी जनजाति ४३, थारु १०, अपांगताबाट २, पिछडिएकोबाट २ जना छन्।
आइतबार घोषणा भएका २ सय ३६ जनामध्येबाट समावेशी समानुपातिकलाई समावेश गरेर घोषणा नगरिएकाले गृह कार्य गरेर समावेश गरिने नेता लिलामणि पोखरेलले बताए।
‘हामीले कुल २९९ केन्द्रीय समिति बनाएका छौं। त्यसमध्ये ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी कोटाका लागि छुट्याएका छौं। हिजो घोषणा गरिएका केन्द्रीय सदस्य समावेशी बनाउन सकिएको छैन’ पोखरेलले भने, ‘बाँकी रहेका ६३ जना समावेशी समानुपातिक सबै क्लस्टरलाई समेटेर आज घोषणा गर्ने छौं।’ समानुपातिक समावेशीको वकालत माओवादीले गरेकाले त्यसलाई सबैभन्दा बढी जिम्मेवारी भएर पूर्ति गर्नुपर्ने दायित्व रहेको पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।