काठमाडौं– नेकपा (माओवादी केन्द्र)को नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। काठमाडौंमा आइतबार सम्पन्न आठौं महाधिवेशनले केन्द्रीय कमिटीमा २३६ जना चयन गरेको छ।
आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्दै महाधिवेशन सम्पन्न गरेका हुन्। अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी र थप केन्द्रीय सदस्यको मनोनयन गर्ने प्रवक्ता महराले जानकारी दिए। सोमबार अपरान्ह ३ बजे सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने बैठकले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्न सक्ने उनको भनाइ छ।
कूल २९९ सदस्यीय केन्द्रीय समितिमा अब क्लस्टर अर्थात् समानुपातिकतर्फका २९ र खुलातर्फका ३४ सदस्य घोषणा हुन बाँकी छ। उनीहरू अब केन्द्रीय समितिबाट मनोनीत हुनेछन्।
बाँकी पदाधिकारी र केन्द्रीय सदस्य केन्द्रीय समितिको बैठकले टुंगो लगाउने महराले जानकारी दिए। आजको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित थप केन्द्रीय सदस्य चयन गर्ने महराको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।