सानोमा जब म देश पढ्थेँ
मलाई देश मेरैजस्तो लाग्थ्यो
सालको पात बजाउँदै देश गाउँदा
देशलाई बोलाइरहेछु लाग्थ्यो
बाटोमा उफ्री उफ्री हिँड्दा
देशलाई दुख्छ जस्तो लाग्थ्यो
पहिरो गएर देश भत्किँदा
आफ्नै अनुहार चोइटिएझैँ लाग्थ्यो
कुत्सित समयले मेरो अनुहारमा खग्रास खसालेपछि
मैले देशलाई पुकारेँ
तर, देश त धेरै धेरै दूर रहेछ
आमाको छातीमा दुष्ट दाँत गाडिएपछि
फेरि देशलाई सम्झेँ
देश त कसैको औँलामा घुमिरहेको रहेछ
यो देश मेरो होइन रहेछ
नागरिकताको चिर्कटोमा देशको रातो हस्ताक्षर खस्नुअघि
हजार प्रश्न झेलेको छु
मेरो बहिनी सम्साँझैं हतार हतार घर फर्किंदा
छायाँजस्तो देशले पिछा गर्दै तर्साएको भेटेको छु
मेरा बच्चाले पढ्ने किताबको देश
र, माथिका बच्चाले पढ्ने किताबको देश फरक फरक रहेछ
यो देश मेरो भइदिएको भए
म र मेरो इतिहासमाथि यसरी छेडखानी गर्ने थिएन
म हजार हण्डरले पछारिँदा
यो देश यसरी हाँसिरहने थिएन
म एक टुक्रा रोटीका लागि रोइरहँदा
यो देश भोजमा नाचिरहने थिएन
यो देश
कि यो मधेस मेरो होइन रहेछ
यो देश मेरो भइदिएको भए
एक पसर नुनका लागि
मेरा आफन्त अकालमै मर्नु पर्ने थिएन
रुखका हाँगा हाँगामा
निर्बल मानिसहरु लट्किनु पर्ने थिएन
निषेधित क्षेत्रभन्दै
मेरो घाँटी अँठ्याउन राजामहाराजाहरू कोही आउने थिएनन्
म आफ्नो भाषामा केही बुझाउन खोज्छु
देश बुझ्दिन भन्दै अर्कै भाषामा सम्झाउन खोज्छ
मेरो अनुहारको बनावटमा देशलाई शंका छ
मेरो उपस्थिति कि यो देशलाई असजिलो लाग्छ
कि मेरो बासस्थानलाई रेखा कोरेर
बाहिर पारिएको छ !
म यहीँ जन्मिएपछि
यहीँको माटो बुक्याएर हुर्किएपछि
के मैले यो देशमा मेरो भन्न पाउँदिन?
दोस्तहरू,
म देश खोज्न
सडकमा आएको छु-
(कवि सिलवालको आजै सार्वजनिक भएको कविता संग्रह ‘चिबेचरा’बाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।