काठमाडौं– विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको सामाजिक संस्था ‘जूनकिरी अविश्रान्त उज्जालो’ले पुस्तकालय निर्माणका लागि ‘च्यारिटी शो’को रुपमा गजल साँझ गर्ने भएको छ।
अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा पुष १६ गते जूनकिरीले ‘जूनकिरी गजल साँझ’को आयोजना गरेको हो। कार्यक्रम पुरानो बानेश्वरस्थित शिल्पी थिएटरमा आयोजना हुनेछ।
संस्थाका अध्यक्ष प्रशान्त शर्माका अनुसार जूनकिरीले निरन्तर गर्दै आएको पुस्तकालय निर्माणको कार्यक्रम अन्तर्गत रहेर तेस्रो पुस्तकालय निर्माण गर्न लागिएको हो। बुटवलमा निर्माण हुने पुस्तकालयका लागि च्यारिटीको रुपमा कार्यक्रम आयोजना गरिएको उनले बताए। शर्माले भने, ‘हामीले यसअघि जस्तै बुटवलमा पुस्तकालय निर्माणका लागि कार्यक्रम राखेका हौं । कार्यक्रममा संकलन हुने पुस्तक र रकमबाट बुटवलमा पुस्तकालय निर्माण गरिनेछ।’
गजल साँझमा चार जना गजलकारको प्रस्तुती रहने छ। गजलकार बाबु त्रिपाठी, संगीता थापा, रसिक राज र बिपिन सलामीले मञ्ज तताउनेछन्। गजलकार त्रिपाठी भन्छन्, ‘एउटा पवित्र कार्यमा हामी सहभागी हुन लागेका हौं। जुनकिरीको यो कामले हामीलाई पनि उत्साहित बनाएको छ।’
संस्थाले यसअघि संखुवासभा र सिराहाका एक–एक विद्यालयमा पुस्तकालय निर्माण गरिसकेको छ। चार वर्षअघि स्थापना भएको संस्थाले सुरुवातको दुई वर्ष यी दुई ठाउँमा पुस्तकालय निर्माण गरेको थियो। दुई वर्षसम्म कोभिडका कारण काम गर्न नपाएपछि हाल महामारी नियन्त्रणमा आएसँगै आफ्नो संस्था फेरि काममा सक्रिय भएको शर्मा बताउँछन्।
उनले भने, ‘हामी अब फेरि काममा फर्किएका हौं। पुस्तकालय भनेको सभ्यताको सूचक हो। बालबालिकाको ज्ञान विकासदेखि कुनै ठाउँको सभ्यता बुझाउन पुस्तकालय चाहिन्छ। त्यसैले हामी बुटवलमा पुस्तकालय निर्माण गर्दै छौं।’
शर्माकाअनुसार कार्यक्रममा प्रवेशका लागि पुस्तक लिएर जान सकिनेछ। मुख्य प्राथमिकतामा पुस्तक राखिएपनि कसैले टिकट शूल्कमार्फत् जान चाहेमा उक्त सुविधा पनि भएको उनले बताए। कार्यक्रम शुक्रबार साँझ ४ बजे सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।