काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको सुपर हिरो फिल्म ‘स्पाइडर मेन : नो वे होम’ले आक्रामक सुरुवात गरेको छ। करिब दुई वर्षको कोरोना महामारीको अवधिपछि प्रदर्शनमा आएका फिल्महरुमध्येमा ‘स्पाइडर मेन’ले सबैभन्दा धेरै कमाइ गरेको छ।
‘द हलिउड रिपोर्टर’काअनुसार फिल्म सार्वजनिक भएसँगै विश्वभरबाट फिल्मले ९ करोड ३६ लाख अमेरिकी डलर बराबरको व्यापार गरेको थियो। ‘डोमेस्टिक बक्सअफिस’बाट फिल्मले ५ करोड अमेरिकी डलर बराबरको व्यापार गरेको छ भने अन्तर्राष्ट्रिय रुपमा फिल्मले ४ करोड ३६ लाखको व्यापार गरेको छ।
२०२१ मा प्रदर्शनमा आएका फिल्महरुमध्येमा ‘स्पाइडर मेन : नो वे होम’ले प्रदर्शनको पहिलो दिनमा नै सबैभन्दा धेरै आम्दानी गर्ने फिल्महरुमध्येमा परेको छ।
सँगै आम्दानीकै आधारमा फिल्मले अत्यधिक कमाउने सुपर हिरो फिल्म, अत्यधिक कमाउने कमिक्समा आधारित फिल्मलगायतका विभिन्न शीर्षकमा पनि यो फिल्मले स्थान बनाएको छ।
जोन वाट्सको निर्देशनमा बनेको फिल्ममा टम होल्याण्ड शीर्ष भूमिकामा छन्। यसका साथै अभिनेत्री जेन्डेया, एन्डृउ गरफिल्ड, विलियम डेफोलगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा स्पाइडर मेनको परिचय खुलेपछिको कथालाई प्रस्तुत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।