



मुम्बई– हेर्दे डरलाग्दो शरीर। १ सय १५ केजी तौल र ६ फिट अग्ला, नेपालको पश्चिमी सुन्दर सहर कैलाली टीकापुरका नवराज विश्वकर्मा मराठी फिल्मका चर्चित अभिनेता हुन् भन्दा धेरैलाई आश्चर्यमा पार्ला।
तर,उनी भारतको आर्थिक नगरी मुम्बईस्थित महाराष्ट्रका जमेका कलाकार हुन्। नवराज बाल्यकालमै आफ्ना आमाबुवासँग मुम्बईको पूणे पुगेका थिए। जहाँ उनका बुवा एउटा कम्पनीमा ‘वाचम्यान’ को काम गर्थे।
जीवनको सुरुवाती दिनमा उनले अभावका कारण धेरै दुःख भोगे। उनको परिवार आफ्नो छोराको उज्वल भविष्यका लागि पूणे पुगेको थियो। तर, केही वर्षभित्रै नवराजले ट्रेन दुर्घटनामा आफ्नी आमा गुमाउनुपर्यो। यो घटनाले उनका बुवा यति हतोत्साही भए, उनले गाउँ नै फर्किने निधो गरे।
भनिन्छ, एकपल्ट जो मुम्बई पुग्यो, उसलाई फिल्मी मसलाले नछुने कुरै हुँदैन। यस्तै, बाल्यकालमा मुम्बई पुगेका नवराजलाई पनि बलिउड सिनेमाको धुनले चिमोटिरहन्थ्यो। उनको दिमागमा सानैदेखि फिल्म खेल्ने नशा चढेको थियो। जुन अहिले पूरा मात्र भएको छैन, उनी मराठी फिल्मको अभिनेताको रुपमा देखिने गरेका छन्।

उनी अहिले पनि पूणेको सुटिङ स्थलमा कैयौंपल्ट मराठी भाषामा संवाद गर्दै गरेको भेटिन्छन्। आज उनीसँग घर छ, परिवार छ, नाम र दाम छ। तर, सन्तुष्टि नभएको उनी बताउँछन्।
‘आज मैले बलिउडमा सबै पाएको छु। तर, बाल्यकालमा मेरो हात समाएर पूणेको गल्लीमा फिल्मको सुटिङ हेर्न लैजाने आमालाई मैले सानैमा गुमाए,’ उनले भावुक हुँदै भने।
नवराजले बलिउडको हिट फिल्म ‘डर’ बाट अभिनयको सुरुवात गरेका थिए। उनले अभिनयका लागि पूणेस्थित पूणे विश्वविद्यालयबाट थप अध्ययन गरेका थिए।
नवराज आफ्नो पहिलो फिल्मले नै आफूलाई फिल्मी क्षेत्रमा लाग्न ठूलो हौसला दिएको बताउँछन्। ‘गाउँ (टीकापुर) मा पनि यो फिल्म धेरैले हेरेका रहेछन्। पहिलो फिल्मको सफलतापछि ४ वर्ष अध्ययनमा लागेको थिएँ,’ उनले भने, ‘गाउँमा फेरि गाइँगुइँ सुरु भएछ। धेरैले घरमा पुगेर बुवालाई खोइ तेरो हिरो छोरा? हिजोआज फिल्ममा देखिँदैन भनेछन्।’
उनी माधुरी दीक्षितसँग छोटो ‘नेगेटिभ’ रोल गर्दा पनि चर्चा पाएकोमा दंग थिए।
‘म फिल्ममा भिलेन थिएँ। तर, सबैले माधुरीको हिरो पो सम्झेछन्,’ पुरानो कुरा सम्झँदै उनी हाँसे।
उनी केही समय फिल्मबाट बाहिर रहँदा परिवार, विशेषत: बुवालाई ठूलो दबाब आएको बताउँछन्। ‘गाउँमा खोइ तेरो हिरो छोरा, आजभोलि फिल्ममा देखिँदैन भनेर बस्नखान दिएनछन्,’ उनले भने, ‘बुवा त एकपल्ट मुम्बई नै आउनुभयो, मलाई लिन। भन्नु भयो– घरमा मलाई हिरोको बुवा भनेर टिक्न दिएनन्। किन फिल्म नखेलेको भनेर सोधेर हैरान पार्छन्। एकपल्ट घर गएर आफै सम्झाइदे।’
अहिले बलिउडमा उनीसँग मित्रता नभएको कुनै कलाकार छैनन्। उनी प्रायः सबै बलिउड कलाकारको नजिक छन्। अजय देवगनसँग हिन्दी फिल्म ‘गंगाजल’ र सलमान खानसँग ‘दबंग’ मा पनि सशक्त भूमिका निर्वाह गरेका नवराजले दर्जनौं मराठी फिल्ममा अभिनेताको रुपमा काम गरिसकेका छन्।
मराठी फिल्म ‘कालु भाइ भक्त चा’ का लागि उनले राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए। उनी मराठी फिल्मबाट राष्ट्रिय पुरस्कार जित्ने पहिलो अभिनेता पनि हुन्। हिजोआज मुम्बईमा आयोजना हुने नेपाली कार्यक्रममा उनी निकै सक्रिय देखिन्छन्। उनी आफूलाई नेपाली भएर बाँच्न पाउँदा गर्व लागेको बताउँछन्। सन्नी देवल अभिनित फिल्म भैयाजी सुपरहिटमा उनी पुनः देखा पर्दैछन्। फिल्म २०१८ को जनवरीमा सार्वजनिक हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।