काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मंसिर २८ गतेका लागि बोलाइएको संघीय संसद्को बैठकलाई एमालेले अवरोध गर्ने संकेत गरेका छन्। बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्ना भनाइहरु पूर्ववत् नै रहेको बताएका हुन्।
‘गैरसांसद्हरुलाई बैठकभित्र राखेर संसद् चल्न सक्दैन। र निष्पक्ष भूमिका सम्पादन गर्न नसक्ने सभामुखले त्यो ढंगले बैठकलाई अगाडि बढाउन सक्नुहुन्न। यी दुइटा कुरामा सुधार हुनुपर्छ, हामी हाम्रा पूर्वमान्यतामा यथावत् छौं। यो कुरा हामीले भन्दै आएका छौं’, उनले भने।
उपमहासचिव ज्ञवालीले देशको प्रमुख शक्ति र प्रमुख प्रतिपक्षको आवाजलाई गम्भीरतापूर्वक नलिइएको बताए। ‘उहाँहरुले गम्भीरतापूर्वक नलिँदासम्म नेकपा एमालेले आफ्नो अडानहरुलाई त्यसैगरी प्रस्तुत गरिरहन्छ’, उनको भनाइ छ।
मंसिर १७ गते अध्यक्षको पदभार ग्रहण कार्यक्रममा एमाले अध्यक्ष ओलीले पनि संसद् बैठक चल्न नसक्ने संकेत गरेका थिए।
आफूले निष्कासन गरेका व्यक्ति संसदभित्र राखेर संसद् चलाइरहेको बताउँदै ओलीले असन्तुष्टि व्यक्त गरेका थिए। उनको भनाइ थियो, 'हामीले निष्कासन गरेका व्यक्ति संसदभित्र राखेर संसद चलाउने? हामीले पार्टीबाट साउन २५ गते निष्कासन गरेका व्यक्ति असार ५ गते आउँछन् भने स्वीकार्य हुँदैन।'
सभामुख अग्निप्रसाद सापकोटाले एमालेविरुद्ध अनुचित गठबन्धन गरेको उनको भनाइ थियो। 'सभामुखजी अनुचित गठबन्धन गरेर लाग्नुभएको छ। एमाले विरुद्ध लाग्नुभयो। अवैध ढंगले पार्टी फुटाउन लाग्नुभयो', ओलीले भनेका थिए।
गत भदौ २३ गतेदेखि सुरु भएको संघीय संसद् असोज १२ गते अन्त्य भएको थियो। प्रतिनिधि सभाको सबै बैठकमा एमाले सांसद्हरुले वेल घेरेर अवरोध गरेका थिए। राष्ट्रिय सभामा भने यथास्थानमा उभिएर विरोध जनाएका थिए। ५२ दिनको त्यस अवधिमा दुवै सदनको बैठक १३/१३ पटक बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।