काठमाडौं– दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई अग्रगामी दृष्टिकोणका साथ अगाडि बढाउनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।
सार्क स्थापनाको ३७औं वर्ष प्रवेश अर्थात् सार्क बडापत्र दिवसको अवसरमा सदस्य राष्ट्रका जनता र सरकारलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्रीले १९औँ शिखर सम्मेलन चाँडो आह्वान गरेर संगठनलाई नवजीवन दिनुपर्ने बताएका हुन्।
सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको प्रमुख खाका भएको र त्यसबाट दक्षिण एशियाका जनताको हितमा केही उल्लेखनीय प्रगति भएको बताउँदै प्रधानमन्त्री देउवाले क्षेत्रीय सद्भाव प्रवद्र्धन, गरिबी र असमानताको अन्त्य, न्यायपूर्ण र समावेशी समाज निर्माण गर्ने हाम्रा प्रयासहरूले आवश्यक सामथ्र्य हासिल गर्न बाँकी रहेको यथार्थ प्रस्तुत गरेका छन्।
प्रधानमन्त्रीले कोभिड–१९ महामारीबाट उत्पन्न चुनौती र जोखिमलाई उल्लेख गर्दै उत्थानशील पुनरुत्थान एवं सुदृढ पुनःनिर्माणमा केन्द्रित हुँदै क्षेत्रीय समझदारी र ऐक्यबद्धतालाई पुनः आत्मसात गर्नुपर्ने आवश्यकतामा समेत जोड दिएका छन्।
दक्षिण एशियाका जनताको बृहत्तर हितका लागि सार्कलाई सक्षम बनाउन नेपालले रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत प्रधानमन्त्रीले दोहोर्याएका छन्।
सहयोग, विश्वास र समझदारीमा आधारित सार्कलाई अझ प्रभावकारी र परिणाममुखी तुल्याउनसमेत उनले सदस्य राष्ट्रहरूसँग आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।