फाइल तस्बिर
काठमाडौं– रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन्। मुसिकोट नगरपालिका–२ रातामाटामा सोमबार बेलुका जन्ती बोकेको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिकाको घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ जन्ती बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि राति नै नेपालगञ्ज पठाइएको प्रहरीले बताएको छ।
दुर्घटनामा परी गम्भीर घाइते हुनेमा मुसिकोट नगरपालिका–१ का वडा अध्यक्ष वीरबल केसी, सोही वडाका सुशिल थापा, मानबहादुर ओली, सुरेन्द्र भण्डारी, नवराज खड्का, विमला खत्री र प्रेम केसी रहेको प्रहरीले जनाएको छ। त्यसैगरी, सोही वडाका टेकबहादुर बस्नेत, चोपबहादुर बस्नेत र बुधुराम खड्का पनि गम्भीर घाइते छन्।
घाइतेमध्ये ५ जना सामान्य उपचारपछि घर फर्किएका छन्। अन्य घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। दुर्घटनापछि बसका चालक दोजबहादुर भण्डारी भने फरार रहेको प्रहरीले जनाएको छ।
बस सडकबाट १ सय मिटर तल खसेको थियो। घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।