इनरुवा- धरान उपमहानगरपालिकामा १४ वर्षअगाडि विमानस्थल निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइए पनि त्यसले अझै पूर्णता पाउन सकेको छैन।
सरोकार राख्ने निकायको उदासीनका कारण विमानस्थल बनाउने योजना काजगमै सीमित भएको हो। १४ वर्षदेखि धरान १७ डाँडाघोपामा ट्विनअटर विमान मात्र उडान र अवतरण गर्न सक्ने १८ बिघा क्षेत्रफलमा विमानस्थल निर्माण गर्न अध्ययन भएको थियो।
विमानस्थल निर्माण गर्न तयार रहेको यती इन कर्पोरेट प्रालिलाई ६ महिनाभित्र विमानस्थल नबने फिर्ता गर्ने सहमतिमा ७ बिघा जग्गा स्थानीयवासीले सस्तो मूल्यमा बिक्री गरेका थिए। १८ बिघामध्ये बाँकी जग्गा नगरपालिकाले उपलब्ध गराउने भनेको थियो। अहिले एटिआर ४२ सम्मको विमान उडान र अवतरणका लागि करिब ९२ बिघा जग्गा आवश्यक पर्ने अध्ययनले देखाएको छ।
प्रतिवेदन अनुसार विमानस्थलका लागि जग्गा उपलब्ध गराउन नसक्ने देखिएपछि जग्गादाताहरुले जग्गा फिर्ता गर्नुपर्ने माग गर्न थालेको जग्गाधनी जीवन भट्टराईले बताए।
प्रतिवेदनमा उल्लेख भए अनुसारको जग्गा उपलब्ध गराउन ठूलै सुकुम्बासी बस्ती उठाउनुपर्ने हुन्छ।
यता स्थानीय तहको निर्वाचनमा विमानस्थल निर्माणलाई प्रमुख एजेन्डा बनाएका दलहरुले प्रदेश र संघको निर्वाचनका कारण अहिले नाम लिइरहेका छैनन्। जग्गा प्राप्तिमा कुनै समस्या नरहेकाले विमानस्थल बन्ने धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले बताए। १४ वर्षदेखि जग्गादाताले न त विमानस्थलको सुविधा लिन पाएका छन् न त जग्गा उपभोग गर्न नै पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।