काठमाडौं– चोरी मुद्दामा २२ लाख रुपैयाँभन्दा बढी जरिवाना सुनाइएका व्यक्ति पाँच वर्षपछि पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंले नुवाकोटको विदुर नगरपालिका–१३ का ३८ वर्षीय कुमार भनिने तेजबहादुर मगरलाई सोमबार बसुन्धाराबाट पक्राउ गरेको हो।
मगरलाई काठमाडौं जिल्ला अदालतले चोरी मुद्दामा २२ लाख ८९ हजार २१९ रुपैयाँ जरिवाना सुनाएको थियो। उनीविरुद्ध २०७३ चैत १७ गते चेल्सी फाउन्डेशन बसुन्धाराबाट ३५ वटा ल्यापटप चोरी गरेका थिए।
उक्त मुद्दामा जिल्ला अदालतले उनलाई झण्डै २३ लाख रुपैयाँ जरिवाना सुनाएको थियो। त्यस्तै, अन्जु केसी सापकोटाले समेत मगरविरुद्ध चोरी मुद्दामा जाहेरी दिएकी थिइन्।
उक्त मुद्दामा समेत उनलाई काठमाडौं जिल्ला अदालतले ७७ हजार २५९ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। मगर यसअघि २०६० सालमा डाँका मुद्दामा पक्राउ परेर ८ वर्ष कैद भुक्तान गरी २०६८ सालमा छुटेको परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले बताए। त्यसपछि पनि उनी पुनः चोरीमा संलग्न रहेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।