काठमाडौं– गुण्डागर्दीमा संलग्न भएको आरोपमा काठमाडौंबाट प्रहरीले २ जना युवालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले काठमाडौं महानगरपालिका–७ गंगाहिटीका ४० वर्षीय मिलन जोशी र दोलखाको भीमेश्वर गाउँपालिका–४ का ३५ वर्षीय रबीन्द्र बस्नेतलाई पक्राउ गरेको हो।
उनीहरुले पानीपोखरीमा रहेको युनिभर्सल इन्टरनेशनल मेनपावरबाट मात्रै 'दादा भत्ता' भन्दै ९० लाख २५ हजार लिएको पाइएको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए।
पक्राउ परेका २ जनाले आफूहरु पानीपोखरी एरियाको 'दादा हौं' भन्दै धम्क्याउँदै मनेवापरबाट रकम असुल गरेका थिए।
प्रहरीका अनुसार उनीहरुले एक व्यक्ति विदेश पठाए (गए) बापत मेनपावरबाट २५ हजार रुपैयाँका दरले कमिसन लिने गरेका थिए।
कोरोना माहामारीका कारण मेनपावर चल्न नसकेको बेला समेत उनीहरुले दशैभत्ता र कसिमन माग गरेका थिए। तर मेनपावरले दिन नसक्ने बताउँदा मंसिर १६ गते उनीहरुले कम्पनीका सञ्चालकका श्रीमती र स्टाफलाई समेत ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ।
त्यसपछि मेनपावरले उनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएको थियो। मेनपावरकै उजुरीको आधारमा प्रहरीले जोशी र बस्नेतलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।