काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्राप्त जिम्मेवारीलाई त्रुटिरहित र उत्कृष्ट ढंगले पूरा गर्नको लागि श्रोतसाधनसहित सरोकारवाला सबैसँग निरन्तर समन्वय र सहकार्यका साथ कार्य गर्न निर्देशन दिएका छन्।
सशस्त्र प्रहरी बल नम्बर ६ गण सप्तरीको नबनिर्मित भवनको आइतबार उद्घाटन गर्दै महानिरीक्षक खनालले समन्वय र सहकार्यका साथ काम गर्न निर्देशन दिएका हुन्।
सुरक्षा इकाइहरुले न्यून जनशक्ति र सीमित श्रोत साधनका बाबजुद पनि उत्कृष्ट कार्य गरेको भन्दै उनले आगामि दिनमा समेत राज्यले दिएको जिम्मेवारीलाई त्रुटिरहित ढंगले अनुशासित र जिम्मेवारीका साथ पूरा गर्न निर्देशन दिएका हुन्।
सशस्त्र प्रहरी बल तराईमा परिचालन भए पश्चात् चोरी तस्करी नियन्त्रण भइ राजश्वसमेत वृद्धि भएको र तराइका जनताले थप सुरक्षाको अनुभुति गर्न पाएको स्मरण गर्दै उनले आगामी दिनमा समेत उत्कृष्ट कार्य गर्न मातहत कर्मचारीहरुलाइ निर्देशन दिए।
सशस्त्र प्रहरी बलप्रति आम जनताले गरेको भरोसालाई कायम राख्दै आगामी दिनमा राष्ट्र र संगठनप्रति इमानदार, नैतिकवान, अनुशासित र उच्च समर्पणका साथ कार्य क्षेत्रमा खटिनसमेत उनले निर्देशन दिए।
आइतबारनै महानिरीक्षक खनालले सोही जिल्लाको शम्भुनाथ नगरपालिका वार्ड नं. ११ मा स्थापना भएको नेपाल एपीएफ ठाकोदेबी जोगेन्द्र भगत स्कुलको उद्घाटन गरे।
एपीएफ स्कुललाई क्षेत्रीयरुपमा विस्तार गर्दै लैजाने क्रमम यस अघि प्रदेश- ५ स्थित कोहलपुर बाँकेमा नेपाल एपीएफ स्कुल सञ्चालनमा आइसकेको छ। कार्यक्रममा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।