काठमाडौं- मेटलाइफले यसै साता नेपालमा आफ्नो स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ। २०५८ साल मङ्सिर महिनामा पहिलोपटक नेपालमा कार्य सञ्चालन गरेदेखि नै मेटलाइफले थुप्रै बिमा सेवा तथा सुविधाहरुको सुरुआत, प्रतिभा विकासमा टेवा, तथा देशभर छरिएका धेरै मानिसहरुलाई लघुबिमामार्फत् वित्तीय सुरक्षाबाट लाभान्वित गराइ नेपालमा बिमा क्षेत्रको विकास र उन्नतिमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको जनाएको छ।
'संसार परिवर्तनशील छ र निरन्तर परिवर्तन भइरहन्छ। यस परिवर्तनशील संसारमा एउटै स्थिर कुरा भनेको नेपालमा बसोबास गर्ने व्यक्ति, परिवार र समुदायलाई थप आत्मविश्वासी भविष्य निर्माण गर्न मद्दत गर्ने मेटलाइफको प्रतिबद्धता रहेको छ,' मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने।
उनले कम्पनीका ग्राहकहरुप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीलाई ग्राहकहरुप्रति गुणस्तरीय सेवा तथा उत्कृष्ट अनुभव प्रदान गर्न प्रोत्साहन तथा सक्षम बनाउन सहयोग गर्ने बिमा क्षेत्रका नियामक संस्थाहरु, खटिएका कर्मचारी तथा एजेन्टहरु, तथा अन्य व्यापार साझेदारहरुलाई पनि धन्यवाद व्यक्त गरे।
मेटलाइफले देशको जीवन बिमा क्षेत्रको विकासमा अग्रणि भूमिका खेल्दै आफ्ना ग्राहकहरुमाझ अझ उत्कृष्ट सुरक्षा योजनाहरुका साथै प्रविधिमय अनुभवहरुको निरन्तर विकासमा अग्रसर रहिरहने उपाध्यक्ष तथा महाप्रबन्धक श्रेष्ठले बताए।
विगत २० वर्षमा मेटलाइफ नेपालले २५० करोड रुपैयाँभन्दा बढीको दाबी भुक्तानी, रोजगार तथा तालिमका अवसरहरुमार्फत् ४० हजारभन्दा बढी पेसाको सिर्जना, दुई करोड रुपैयाँको जीवन बिमा कोष तथा २७४ करोड रुपैयाँको जगेडा कोषको स्थापना गरी वित्तीय स्थायित्व कायम गरिसकेको जनाएको छ। हाल मेटलाइफले नेपालमा १४ लाखभन्दा बढी ग्राहकहरुलाई जीवन बिमा सुरक्षण प्रदान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।