काठमाडौं- नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा ३६५ दिन अवधिको लागि लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ४४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ४५ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १५ करोड २५ लाख रुपैयाँ गरी कूल ३ अर्ब ५ करोड रुपैयाँ लगानी गर्न लागेको हो। बैंकले उक्त रकम २०७८ पुस १ गतेदेखि २०७९ मंसिर २९ गतेसम्मका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो।
राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी मंसिर २२ गतेसम्ममा बोलकबोल पेस गर्नुपर्ने छ।
यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनु पर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष कायम हुनुपर्ने छ।
त्यसैगरी, निक्षेप लिनको लागि निष्कृय कर्जा, कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने छ।
यस्तै, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तिमा ६ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।