काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दायर गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।
उच्च अदालतले यसअघि जारी गरेको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिँदै मुद्दाको किनारा नलागेसम्मका लागि न्यायाधीशद्धय श्रीमण कुमार र नर्रिश्वर भण्डारीको इजलासले अन्तरिम आदेश जारी गरेको हो।
उच्च अदालतले परराष्ट्र मन्त्रालयले एनआरएनएलाई दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्ने यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिँदै यस्तो आदेश गरेको हो। उच्च अदालतको अन्तरिम आदेशपछि वर्तमान कार्यसमितिलाई चुनाव गराउन बाटो खुलेको छ।
परराष्ट्रले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिको समायवधि र नयाँ निर्वाचन प्रक्रिया संरक्षक समितिबाट गर्नुपर्ने निर्देशनसहितको पत्र पठाएको थियो। परराष्ट्रको आदेशलाई चुनौति दिँदै एनआरएनए अध्यक्ष कुमार पन्तले अदालतमा मुद्दा दायर गरेका थिए।
दायर निवेदनको प्रारम्भिक सुनुवाइ गर्दै अदालतले निर्देशनलाई तत्काल कार्यान्वयन नगर्न परराष्ट्रलाई निर्देशन दिएको थियो।
यसअघि मुख्य न्यायाधीश नृपध्वज निरौलाको इजलासले गत आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। उच्च अदालतको आदेश पछि एनआरएनएका अध्यक्ष पन्त नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय समितिले निर्वाचनका प्रक्रिया जारी राख्न पाउने छ।
परराष्ट्रले असोज ११ र कात्तिक १७ गते पत्राचार गरी निर्वाचनबारे विभिन्न निर्देशन दिएको थियो। ती सबै निर्देशनलाई आज आइतबारसम्म कार्यान्वयन नगर्ने उच्च अदालतले आदेश दिएको थियो ।
एनआरएनएको निर्वाचनमाथि परराष्ट्र मन्त्रालयले निरन्तर हस्तक्षेप गर्दा नेतृत्व छनोट प्रक्रिया अनिश्चित बनिरहेको संघको आरोप छ। महाधिवेशन प्रतिनिधिसम्बन्धी विवाद रहेको भन्दै परराष्ट्रले पटक–पटक चुनावी तालिका स्थगित गर्न निर्देशन दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।