काठमाडौं- नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले मर्जर प्रक्रिया टुङ्ग्याउनका लागि थप समय माग गर्दै नेपाल राष्ट्र बैंकमा पत्र पठाएका छन्। राष्ट्र बैंकले तोकेको समयमा मर्जरको प्रक्रिया पूरा गर्न नसकेपछि दुई बैंकले थप समय मागेका हुन्।
राष्ट्र बैंक स्रोतका अनुसार आइतबार दुवै बैंकले राष्ट्र बैंकमा पत्र पठाएर मर्जरका लागि समय थपिदिन आग्रह गरेका छन्।
आपसमा मर्जरको प्रारम्भिक सहमति गरी राष्ट्र बैंक पुगेका यी बैंकले जेठ २० गते नै सैद्धान्तिक स्वीकृतिसमेत पाइसकेको छ। मर्जर नीतिअनुसार राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको तीन महिनाभित्र एकीकृत कारोबारका लागि अन्तिम स्वीकृत लिनुपर्ने हुन्छ।
तर, यी बैंकहरुले तीन महिनासम्म आवश्यक प्रक्रिया पूरा गर्न नसकेको भन्दै अन्तिम मौका दिन राष्ट्र बैंकमा आग्रह गरेका थिए। सो आग्रहअनुसार राष्ट्र बैंकले उनीहरुलाई गत असोज १९ मा पुनः तीन महिनाका लागि समय थप गरिदिएको थियो। राष्ट्र बैंकले थप गरेको उक्त समय आजबाट सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।