काठमाडौं- सङ्गठित अपराध र ठगी मुद्दामा मुछिएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको काठमाडौंमा मात्रै छ हजार वर्गमिटरभन्दा बढी जग्गा रहेको पाइएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोले सङ्गठित ठगीमा अनुसन्धान गर्ने क्रममा तामाङको काठमाडौंस्थित कीर्तिपुरमा छ हजार १६२ वर्गमिटर जग्गा रहेको पाइएको हो।
कीर्तिपुरका विभिन्न ३२ ठाउँमा गरी छ हजार १६२ वर्गमिटर जग्गा रहेको अनुसन्धानबाट खुलेको छ। अधिकांश जग्गा अध्यक्ष इच्छाराजको नाममा नभएर उनकी श्रीमती र दुई छोरीको नाममा रहेको पाइएको छ। छोरीको नाममासमेत ठूलो मात्रामा जग्गा रहेको पाइएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले इच्छाराजका दुई छोरीलाई फरार प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको छ।
इच्छाराजको नाममा कीर्तिपुरमा ५७.३० वर्गमिटरमात्रै जग्गा छ। बाँकी जग्गाका उनकी श्रीमती सिर्जना शाक्य तामाङ र दुई छोरी प्रतीक्षा र प्रतिष्ठाको नाममा रहेको पाइएको छ।
इच्छाराजकी २८ वर्षीया छोरी प्रतीक्षाको नाममा कीर्तिपुरमा सिट नम्बर १/१०२–११८२–०१, कित्ता नम्बर १०६ मा ५५८.९५ वर्गमिटर, कित्ता नम्बर ९३ मा ४१३.६५ वर्गमिटरमा घर रहेको खुलेको छ।
त्यसैगरी इच्छाराजकी २५ वर्षीया छोरी प्रतिष्ठाको नाममा कित्ता नम्बर १५ मा २१०.८ वर्गमिटर, कित्ता नम्बर ११२ मा १३६.३२, कित्ता नम्बर १११ मा २२३.८८ मा घरसमेत र कित्ता नम्बर ९१ मा १०१.६ वर्गमिटर जग्गा रहेको खुलेको छ।
इच्छाराजकी ५६ वर्षीया श्रीमती सिर्जनाको नाममा कीर्तिपुरका विभिन्न २६ ठाउँमा जग्गा रहेको खुलेको छ। श्रीमती, छोरी र आफ्नो नाममा गरेर मात्रै कीर्तिपुरमा छ हजार १६२ वर्गमिटर जग्गा रहेको खुलेको छ। इच्छाराजको विभिन्न कम्पनीका नाममा रहेका जग्गाको विवरण भने यहाँ उल्लेख गरिएको छैन।
जिल्ला सरकारी वकिल कार्यालयले इच्छाराजसहित ४२ जनालाई प्रतिवादी बनाएर शुक्रबार मुद्दा दर्ता गरेको छ। बिगोबापत पाँच अर्ब ३७ करोड ५५ लाख २४ हजार ९३७ रुपैयाँ जरिवाना मागदाबी गरिएको छ। ठगीसँगै ७५ वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई ठगी गरेको पुष्टि हुन आएकाले मुलुकी अपराधसंहिताको दफा २४९ को उदफा (३) को (ग) बमोजिमको सजाय र सङ्गठित ठगी भएको पाइएकाले सङ्गठित अपराध निवारण ऐन, २०७० अनुसार कसुरमा सजाय मागदाबी गर्दै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ।
तामाङलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो। उनीसहित अरु ११ जना पनि पक्राउ परेका थिए। सुरुमा ठगी मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका तामाङको सङ्गठित ठगी उजागर भएपछि सङ्गठित अपराधमासमेत अनुसन्धान अघि बढाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।