काठमाडौं– मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर छलेको आरोपमा आन्तरिक राजश्व अनुसन्धान विभागले १ व्यक्तिविरुद्ध २२ करोड बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ।
विभागले रुपन्देहीका प्रोमोद कुमार गुप्ताविरुद्ध २२ करोड ३६ लाख ९३ हजार ४ सय रुपैयाँ बिगो दाबी गर्दै उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा मुद्दा दर्ता गरेको हो।
विभागका अनुसार कशौधन कवडा सप्लायर्सका प्रोपाराइटर गुप्ताले राजस्व छलि गर्ने मनसायले अन्य फर्मको नामबाट सामान खरिद गरी उक्त सामान विभिन्न ब्यक्तिहरुलाई बिक्री गरेका देखिएको छ। गुप्ताले खरिद र बिक्री गरिएको सामानको लेखाङ्कन नगरी भ्याट र आयकर चुहावट गरेको देखिएको विभागले जानकारी दिएको छ।
गुप्ताविरुद्ध भ्याटअन्तर्गत ६ करोड ३१ लाख ४८ हजार २ सय ६६ रुपैयाँ र आयकरतर्फ १६ करोड ५ लाख ४५ हजार २ सय १ रुपैयाँ बिगो दाबी गरिएको छ।
विभागले गुप्ताबाट विगो बमोजिमको शत प्रतिशत जरिवाना २२ करोड ३६ लाख ९३ हजार ४ सय ७९ रुपैयाँ असुली र ३ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।