काठमाडौं- नबिल बैंकले कालिकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले पलाँता गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारीसमेत गरेको जानकारी दिएको छ।
पलाँता गाउँपालिकामा नबिल बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाको तर्फबाट अध्यक्ष लक्ष्मणबहादुर बमले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। उक्त साझेदारीमार्फत गाउँपालिकाहरुले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको जनाएको छ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा ब्यक्त गरे। नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरताका सम्बन्धमा नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझाले प्रकाश पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।