काठमाडौं– हाल बंगालको खाडीमा रहेको चक्रवात जवाद कमजोर भएसँगै नेपालका अधिकांश स्थानमा आंशिक बदली देखिएको छ। नेपालको पूर्वी भूभागमा यस प्रणालीको सामान्य प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश–१ तथा अन्य प्रदेशहरूका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।
देशका बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षा तथा प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।
राति सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।