सल्लेरी (सोलुखुम्बु)- सोलुखुम्बुको सोताङ गाउँपालिका–२ तेमेदु गाउँका १३ घर पहिरोको उच्च जोखिममा परेका छन्।
वर्षासँगै चाम्खु खोल्साको कटान बढ्दै गएपछि जमिन चिराचिरा हुँदै बग्न थालेको पीडित नैनबहादुर राईले बताए।
२०७२ सालको भूकम्पपश्चात् निरन्तर बग्न थालेको उक्त पहिरो घर नजिकै पुगेको राईको भनाइ छ। केही दिनदेखि निरन्तर वर्षाका कारण पहिरो बढ्दै गएपछि स्थानीयवासी रातभरि जाग्राम बस्ने गरेका छन्।
दिउँसो घाम लाग्ने र रातमा पानी पर्दा जमिन चिराचिरा भई बग्दै जाने गरेका कारण गाउँले त्रसित बनेका हुन्। इन्द्रकला राई, छलिलाल राई, धन रुपी राई र नैनबहादुर राईको घर नजिकै पहिरो पुगेको छ।
पहिरो रोकथामको लागि सम्बन्धित निकाय समक्ष गुहार मागे पनि सुनुवाइ नभएको पीडितको भनाइ छ।
पहिरोका कारण स्थानीयवासी नैनबहादुर राईको करिब चार रोपनी क्षेत्रफलमा लगाइएको अलैँची समेत बगाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।