काठमाडौं- भूकम्पपछिको पुनर्निर्माणका क्रममा नेपालले प्राप्त गरेको अनुभव र सिकाइका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आयोजना गर्न लागिएको सम्मेलनमा धेरै सहभागी जुममै जोडिने भएका छन्।
कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोनका कारण भौतिक रुपमा सहभागी हुनेको सङ्ख्या घट्न थालेको सम्मेलन आयोजक समितिका संयोजक एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।
'यसअघि विभिन्न देशबाट सम्मेलनमा सहभागी हुन आउने भनी निश्चित भएकाको सङ्ख्या ५० थियो, अहिले घटेर १० मा आएको छ, कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोनका कारण भौतिक रुपमा सहभागी हुने घट्दै छन्, भौतिक रुपमा सहभागी हुन नसके पनि ती सबै विज्ञ जुम माध्यमबाट सहभागी हुने छन्, जुमबाट २०० विदेशी विज्ञ सहभागी हुने निश्चित भएको छ,' उनले भने।
नेपालस्थित विभिन्न देशका नियोगमा कार्यरत १०० जना विदेशी नागरिक भने भौतिक रुपमै सम्मेलनमा सहभागी हुने भएका छन्। सम्मेलनमा उद्घाटन र समापनसहित २० वटा सत्र रहनेछ। जसमा विषय विज्ञको कार्यपत्रसहित सहभागीको टिप्पणी समावेश गरिनेछ। सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले यही मङ्सिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंको हायात होटलमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो। ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ भन्ने नाराका साथ आयोजना गरिने सम्मेलनमा निजी आवास, सांस्कृतिक सम्पदा, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीसमेत आयोजना गरिनेछ।
सम्मेलनलाई लक्षित गरी वेबसाइट निर्माण गरिएको छ। वेबसाइटमा सम्मेलनसम्बन्धी सूचना राखिएको छ। भूकम्पपछि २०७२ साल असार १० गते पुनर्निर्मााणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आयोजना गरिएको सम्मेलनकै जस्तो सहभागिता यसपटक पनि जुटाउने तयारी भए पनि ओमिक्रोनका कारण केही प्रभावित हुने भएको छ।
सम्मेलनले नेपाललाई सन् २०३० सम्ममा विपद् जोखिम मुक्त देशका रुपमा स्थापित गर्ने लक्ष्यलाई पूरा गर्न सहयोग गर्ने विश्वास गरिएको छ। प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणका अनुभव र सिकाइ भावी पुस्तालाई हस्तान्तरण गर्न अभिलेखीकराणको कामसमेत गरेको छ। सम्मेलन सफल बनाउन प्राधिकरणले ध्यान केन्द्रित गरेको जनाएको छ।
आगामी पुस ९ गते छ वर्षे कार्यकाल सक्न लागेको प्राधिकरणले पुनर्निर्माणका बाँकी काम विषयगत कार्यालयलाई हस्तान्तरण गरिसकेको छ। प्राधिकरणले नै गरिरहेका केही काम भने त्यस अवधिमै सक्ने गरी तयारी भए पनि त्यो सम्भव नहुने देखिएको छ। प्राधिकरणले अहिले लेखापरीक्षणको कामसमेत गराइरहेको जनाइएको छ।
सम्मेलनमा राजनीतिक दल, सञ्चारकर्मी र दातृ निकायले भूकम्पपछिको पुनर्निर्माणलाई कसरी हेरेका छन् भनी छुट्टाछुट्टै सत्र राख्न लागिएको छ। सम्मेलनमा विषय विज्ञ, स्वदेशी तथा विदेशी पाहुना एवं विभिन्न संघ संस्थालाई आमन्त्रण गरिएको छ। सम्मेलनमा प्राधिकरणले गरेका कामका विषयमा पनि छुट्टै सत्रको आयोजना गरिएको छ।
सम्मेलनले नेपाललाई विश्वमा प्रवद्र्धन गर्नसमेत सहयोग गर्ने आशा गरिएको छ। सम्मेलनलाई लक्षित गरी सार्वजनिक गरिएको वेबसाइटमा कार्यक्रमसम्बन्धी महत्त्वपूर्ण सूचना एवं गतिविधि समावेश गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए।
प्राधिकरणले सम्मेलनमा सहभागी हुन इच्छुकलाई नयाँ वेबसाइटमा गइ अनलाइन माध्यमबाट नाम दर्ता गर्न अनुरोध गरेको छ। वि.सं. २०७२ वैशाख १२ र २९ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण भत्केका संरचना पुनर्निर्माणका लागि त्यसै वर्ष पुस १० गते प्राधिकरण स्थापना भएको हो। स्थापनाअघि वि.सं. २०७२ असार १० गते सहयोग जुटाउन आयोजना गरिएको सम्मेलनमा चार खर्ब १० अर्ब रुपैयाँ वैदेशिक सहयोगको प्रतिबद्धता भएको थियो। राहत तथा उद्धारमा खर्च भएको र अन्य पूर्वाधारमा गरिएको लगानी घटाउँदा पुनर्निर्माणका लागि वास्तविक प्रतिबद्धता रकम तीन खर्ब २१ अर्ब रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ। यसमध्ये तीन खर्ब १३ अर्ब रुपैयाँको सम्झौता भइसकेको छ। यो कूल वास्तविक प्रतिबद्धता रकमको ९७.५ प्रतिशत हो।
प्राधिकरणमार्फत् हालसम्म सात लाख ५९ हजार ७१० घर पुनर्निर्माणको चरणमा रहेका छन्। आठ लाख ६६ हजार २०७ जना भूकम्पपीडित प्राधिकरणको लाभग्राही सूचीमा छन्। आठ लाख २७ हजार ३४० जना पीडितले घर पुनर्निर्माणका लागि सम्झौता गरिसकेका छन्। लाभग्राही सूचीमा परेकाले भूकम्प प्रतिरोधी घर पुनर्निर्माणका लागि अनुदानस्वरुप तीन लाख रुपैयाँ तीन किस्तामा पाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।