काठमाडौं– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै बंगालको खाडीको मध्य पश्चिम भूभागमा शुक्रबार जवाद नामको सामुन्द्रिक चक्रवात बनेको जनाएको छ। सो चक्रवात शनिबार बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर र उत्तर पूर्वतर्फ सर्ने देखिएको महाशाखाले जनाएको छ।
सो चक्रवातका कारण नेपालमा खासै ठूलो प्रभाव पर्ने सम्भावना नरहेता पनि यसको अप्रत्यक्ष प्रभावले आज रातिबाट प्रदेश १ , प्रदेश २ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भइ यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आगामी सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिएको महाशाखाले जनाएको छ।
आइतबारबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ। सो पश्चिमी न्यून चापिय प्रणालिको प्रभावले आइतबार देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको विशेष बुलेटिनमा जनाइएको छ।
सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। आइतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानहरूमा भारी हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। सो प्रणाली सोमवार रातिबाट कमजोर बन्दै जाने सम्भावना रहेको छ।
यी मौसमी प्रणालीहरुका कारण पर्वतारोहण, हवाई/यातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।