धनगढी– कैलालीको धनगढीमा मृत फेला परेका १० वर्षीय बालकको हत्या आरोपमा सौतेनी आमालाई प्रहरीले प्रकाउ गरि आज (शुक्रबार) सार्वजनिक गरेको छ।
धनगढी उपमहानगरपालिका–२ स्थित शिखर टोलमा बस्दै आएका १० वर्षीय निशान थापामगरको हत्या आरोपमा प्रहरीले उनकी सौतेनी आमा माघी रोकायालाई पक्राउ गरेको हो।
भारतको हरियाणाबाट पक्राउ परेकी रोकायालाई जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
निशान मंसिर २ गते कोठाभित्रै मृत फेला परेका थिए। सौतेनी आमा रोकाया सोही दिनदेखि फरार थिइन्। भारतीय प्रहरीको सहयोगमा रोकायालाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो।
जिल्ला अदालतबाट म्याद थप गरी रोकायामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।
मृतक निशान्त थापा मगर स्कूलबाट फर्किएपछि उनले थाहा नपाउने गरी दूधमा मुसा मार्ने औषधि मिसाइ खुवाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको एसपी अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।