भैरहवा– नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बृहत् लुम्बिनी गुरुयोजनाको बाँकी काम तीव्ररूपमा अघि बढाउन नेपाल सरकार र सरोकारवाला व्यक्तिको ध्यानाकर्षण गराएका छन्। यसको कार्यान्वयनले देशको समृद्धि र अर्थतन्त्रमा योगदान दिन सक्ने उनको भनाइ छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औं स्थापना दिवसका क्रममा उनले धार्मिक र पर्यटकीय हिसाबले विश्वकै आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनीको थप विकासका लागि बृहत गुरुयोजनाको कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका हुन्।
केन्जो टांगेले ४० वर्षअघि बनाएको लुम्बिनी गुरुयोजना अझै पूरा नहुनु बिडम्बना भएको बताउँदै यसको शीघ्र कार्यान्वयन आवश्यक रहेकामा उनले जोड दिए। गुरुयोजनाको कार्यान्वयनले मात्रै लुम्बिनी आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने नेता पौडेलले बताए।
लुम्बिनी गुरुयोजनाका बाँकी काम तीन वर्षभित्र सम्पन्न गर्नका लागि आफू अर्थमन्त्री भएका बेला रु सात अर्ब ३३ करोड बजेट विनियोजन गरी बहुवर्षीय स्रोत सुनिश्चितता गरेको जनाउँदै उनले यसको सदुपयोग गर्न र आयोजनाको पूर्णतामा ढिला नगर्न पनि आग्रह गरे।
पूर्वअर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सुरुका दिनमा क्षेत्रीयस्तरको विमानस्थलका रूपमा डिजाइन गरिए पनि आवश्यकता महसुस गरी पूर्ण क्षमतामा सञ्चालनका लागि थप जग्गा अधिग्रहण गरिएको जानकारी दिँदै विमानस्थलको दोस्रो चरणको डिपिआरको काम अघि बढाउन पनि आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।