काठमाडौं– अपांगता भएका व्यक्तिका लागि शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा र पुनःस्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।
अपांगता भएका व्यक्तिहरुको ३०औँ अन्तराष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले पछिल्लो समय कोभिड–१९ को महामारीका कारण अपांगता भएका व्यक्तिको रोजगार तथा जीवनयापन प्रभावित भएको उल्लेख गरेका छन्।
अपांगता भएका व्यक्तिलगायत सबै सिमान्तकृत समुदायका आवश्यकता र समस्यालाई विशेष ध्यान दिने प्रतिबद्धतासमेत उनले सन्देशमार्फत व्यक्त गरेका छन्।
अपांगता भएका व्यक्तिहरुले भोगिरहेका भौतिक दृष्टिकोणजन्य, कानूनी र सञ्चारमा रहेका अवरोध न्यूनीकरण गरी सम्मानपूर्वक, स्वाबलम्बी, आत्मनिर्भर जीवनयापन गर्न पहुँचयुक्त वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको प्रधानमन्त्री देउवाले बताएका छन्।
स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिलाई डाइफर क्याथेटर जस्ता सामानको लागि यो सरकारले मासिक ५ हजार रुपैयाँ दिने निर्णय गरेको बताउँदै उनले अवस्थाका आधारमा अन्य अपांगता भएका व्यक्तिको पनि सुविधा वृद्धि गरेको बताए।
दिवसले यस क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था र सम्बन्धित सबै सरोकारवालालाई अपाङ्गता भएका व्यक्तिको हित र अधिकारको प्रवद्र्धनमा एकीकृत रुपमा प्रभावकारी कार्यक्रम लिई अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामनासमेत उनले व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।