काठमाडौं– दोलखाको गौरीशंकर गाउँपालिका–१, जुगुका २० वर्षीय सुमन कार्की चाबहिलस्थित पशुपति क्याम्पसमा स्नातक तहमा अध्ययनरत छन्।
स्नातक पढ्दै गरेका कार्कीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हत्याजस्तो जघन्य अपराधको कसुरमा पक्राउ गरेको छ। सुमन र सोही ठाउँका २७ वर्षीय विक्रम कार्की मिलेर एक महिनादेखि योजना बनाएर सुरक्षागार्डको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
उनीहरुले एक महिनादेखि योजना बनाएर दोलखाको गौरीशंकर गाउँपालिका–१, जुगुस्थित हिमचुली बहुउदेश्यीय सहकारी संस्थामा कार्यरत सुरक्षागार्ड, ६७ वर्षीय पूर्णबहादुर खड्काको हत्या गरी लुटपाट गरेको सीआईबीका प्रवक्ता तथा एसपी श्यामकुमार महतोले बताए।
स्रोतका अनुसार उनीहरुले सुरक्षागार्डको हत्याका लागि काठमाडौंमै एक महिनाअघि योजना बनाएका थिए। त्यसपछि उनीहरु गत कात्तिक १० गते बस चढेर दोलखा पुगेको अनुसन्धानबाट खुलेको छ। स्थानीय भएकाले आफूहरुलाई चिन्ने हुँदा उनीहरु साँझ मात्रै उक्त ठाउँमा पुगेका थिए।
पूर्वयोजना अनुसार सहकारी लुट्ने योजनाका साथ दोलखा पुगेका उनीहरुमध्ये सुमन सुरक्षागार्ड भएको ठाउँमा पुगेका थिए। सुरक्षागार्ड खड्का र सुमनको पूर्वचिनजान थियो। सुमन उनलाई मामा सम्बोधन गर्थे।
‘मामा, मेरो एक जना काठमाडौंबाट आएको साथी बाटामै बेहोस भएर ढल्यो के, भयो सहयोग गर्नु पर्यो,’ सुमनले त्यसबेला सुरक्षागार्डलाई भनेका थिए।सुमनले आफ्ना साथी विक्रमलाई भने केही परै बाटोमा लडिरहेको नाटक गर्न लगाएका थिए। भान्जाले सहयोग गर्नु पर्यो भनेपछि सुरक्षा गार्ड पनि सुमनकै पछि लागेर गएका थिए ।
सुमनले केही बेरमा विक्रम लडेको नाटक गरेको एकान्त ठाउँमा सुरक्षागार्ड खड्कालाई पुर्याए। बाटोमै बेहोस भएको देखेपछि सुरक्षागार्ड खड्काले धामी बोलाउनुपर्छ भन्ने सुझाव दिँदै थिए, त्यति नै बेला उनीहले सुरक्षागार्डको हात पछाडि लगेर बाँध्न सुरु गरे।
त्यसपछि खुट्टा पनि बाँधेको र मुखमा खादाले बाँधेर ढुंगाले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको सीआईबीका एक अधिकारीले नेपाल लाइभलाई बताए। हत्यापछि सुरक्षागार्डको शव कात्तिक १२ गते जुगुस्थित जंगलमा डोरीले हातखुट्टा बाँधेर फ्याँकिएको अवस्थामा फेला परेको थियो।
काठमाडौंबाट गएकै रात, कात्तिक १० गते सुरक्षागार्डको हत्या गरेपछि उनको साथमा रहेको झोला र चाबी लिएर उनीहरु सहकारी लुट्न गएका थिए। सहकारीमा रहेको एक लाख ८५ हजार ७८० रुपैयाँ उनीहरुले लुट्न खोजेका थिए। सेफ फुटाउन खोजेपनि उनीहरुले सकेनन्।
त्यसपछि उनीहरु हिँड्दै चरिकोटसम्म आएको र त्यहाँबाट लोकल बस चढेर काठमाडौं आएको अनुसन्धानबाट खुलेको छ ।
काठमाडौं आएपछि उनीहरु मुस्ताङ घुम्नसमेत गएका थिए। मुस्ताङबाट फर्किएपछि पुन: उनीहरु काठमाडौं आएका थिए। उनीहरुमध्ये एक जनाको कोठा सिनामंगल र एक जनाको कोठा जोरपाटीमा छ। पक्राउ परेका विक्रम भने प्लम्बरको काम गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।
उनीहरुबाट प्रहरीले मृतकको मोबाइल एक थान, लुटिएकोमध्ये एक लाख ३८ हजार २३५ रुपैयाँ नगद बरामद गरेको छ। हत्या आरोपमा पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको सीआईबीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।