काठमाडौं– नेपाललाई ट्रान्जिट बनाउँदै रक्तचन्दनको तेल चीन तस्करी हुने गरेको पाइएको छ।
बुधबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ४४ लिटर रक्तचन्दनको तेलसहित २ जनालाई पक्राउ गरेसँगै नेपाललाई ट्रान्जिट बनाउँदै चीनतर्फ रक्तचन्दनको तस्करी हुने गरेको रहस्य खुलेको हो।
महाशाखाको टोलीले बुधबार रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भई काठमाडौं बालाजु बस्दै आएका २७ वर्षीय राम बहादुर खत्री र कास्कीको लेखनाथ महानगरपालिका–१० घर भई बुढानीलकण्ठ बस्दै आएका आएका ४० वर्षीय गंगाबहादुर पुनलाई पक्राउ गरेको छ। चीन तस्करी हुन लागेको ४४ लिटर रक्तचन्दनको तेल पनि उनीहरुबाट बरामद भएको छ।
प्रतिलिटर ५ लाख रुपैयाँका दरले उक्त तेल बेच्न लागेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुढानीलकण्ठ–५ पञ्चकुमारी मन्दिर नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि वन डिभिजन कार्यालय हात्तिसार पठाइएको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए। उक्त तेल भारतबाट नेपाललाई ट्रान्जिट बनाएर चीन तस्करी हुन लागेको एसपी कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।