काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनीको बृहतर विकासका लागि बनेको गुरुयोजना कार्यान्वयन प्रभावकारी हुनु जरुरी रहेको बताएका छन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औं वार्षिकोत्सव समारोह तथा प्रज्ञा सम्मेलनमा बोल्दै पौडेलले भने, ‘पूर्ववर्ति ओली नेतृत्वको सरकारले जुन तत्परता देखाएको थियो। जुन कोर्समा अघि बढाउन पहलकदमी गरेको थियो। त्यसमा अहिले कुनै कमी नहोस् भन्न चाहन्छु। पूर्ण रुपमा गुरुयोजना कार्यान्वयन गरेर गए विश्वमै लुम्बिनीको धार्मिक र पर्यटकीय हिसाबले पनि राम्रो हुन्छ।’
४० वर्ष पुगिसक्दा पनि गुरुयोजना कार्यान्वयनमा ढिलाइ भइरहेको भन्दै त्यसमा अघिल्लो सरकारले छुट्याएको बजेटमा कमी हुन नहुने उनले बताए।
केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका बेला पौडेलले नै लुम्बिनीको बृहत गुरुयोजना अनुसार निर्माणका लागि ७ अर्ब ३३ करोड बजेट विनियोजन गरेका थिए।
‘यो रकम सही सदुपयोग गरेर गुणस्तरीय हिसाबले कार्यान्वयन गरेर शीघ्र सम्पन्न गर्नु जरुरी रहेको छ। यो रकमको सही सदुपयोग होस् भन्नका लागि सबैलाई भन्न चाहन्छु,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।