काठमाडौं– अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसममा परेको छ। सोही प्रभावका कारण आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ।
दिउँसो देशभर बदली रही केही उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।
सो प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।
त्यसैगरी आज राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहने महाशाखाको भनाइ छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ, ती प्रदेशका उच्च पहाडी र हिमाली भू–भागको धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेका महाशाखाले जनाएको छ।
दैनिक रुपमा तापक्रम घटिरहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।