काठमाडौं– कोरोना भाइरस संक्रमण सामान्य अवस्थातर्फ आएकाले सरकारको अबको प्राथमिकता आर्थिक पुनरुत्थान रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। नेपाल दोस्रो चरणको आर्थिक सुधारको क्रममा रहेको भन्दै उनले यसलाई तीव्रतालाई दिन स्वदेशी तथा विदेशी लगानीलाई सहजीकरण गरिने बताए।
बुधवार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को रजत जयन्ती तथा अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा ढुक्क भएर लगानी गर्नसमेत लगानीकर्तालाई आह्वान गरे। ‘नेपालमा ढुक्क भएर लगानी गर्नुहोस्,’ उनले भने, ‘तपाईंको सम्पत्ति र लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले गर्छ।’
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले भन्सारमा आधारित राजस्व, विप्रेषणमा आधारित अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताए । विकासमैत्री नीतिगत ऐन तथा कानूनहरू बनाउनेतर्फ ध्यान दिइएको भन्दै उनले नेपालको खर्च गर्ने मोडालिटीमा पनि नयाँपन ल्याउनु आवश्यक रहेको बताए।
खरीद ऐन तथा नियमावलीलाई संशोधन गर्न लागिएको बताउँदै उनले निर्माण व्यवसायीलाई प्रोत्साहन गर्ने नीतिसमेत ल्याउन लागिएको बताए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सार्वजनिक खरीद र सार्वजनिक योजना छनोट पारदर्शी नभएको बताए। संघीयतामा गइसकेपछि तल्लो तहमा पनि संस्थागत संरचना खडा भएको भन्दै उनले भने, ‘संस्था बनाउनेबित्तिकै काम हुँदैन भन्ने देखियो, अहिले जेसीबी भएकाहरू मेयर भएका छन् भने देशभरि कोतरिएका डाँडाहरूमात्रै छन्।’
कार्यक्रममा कांग्रेसका सांसद् तथा उद्योगपति विनोद चौधरीले नियामक निकायलाई चुस्त बनाउँदै अर्थतन्त्रको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग, व्यवसायसँग सम्बद्ध विभिन्न ऐन सुधार गर्न खाँचो रहेको बताए । उद्योग मन्त्रालयले ४ महिनादेखि मन्त्रीविहीन रहेको भन्दै उनले सरकारले जुन प्राथमिकता दिनुपर्ने थियो, त्यस किसिमले उद्योग व्यवसायलाई प्राथमिकता नदिएको उनले बताए। अमेरिकी सहयोगको परियोजना एमसीसी छिटो पारित गराउन पनि उनले जोड दिए।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले तरलता अभाव भएको नाममा सीडी अनुपातलाई ९० प्रतिशतमा झार्नुभन्दा पनि यसलाई ९५ प्रतिशतमा राख्न सुझाव दिए। नेपाल परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अहिलेको आवश्यकता औद्योगिकीकरण भएको भन्दै उद्योग र रोजगारी सृजना गर्न सरकार र निजीक्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए।
सेजनको रजतजयन्ती तथा सेजन अवार्ड कार्यक्रममा यस वर्षको सेजन अवार्ड अन्नपूर्ण पोस्टकी सुनीता कार्की र हिमाल खबर पत्रिकाका रमेशकुमार न्यौपानेले पाएका छन् भने त्यस अवसरमा प्राडा अच्युत वाग्ले र राजीव उपाध्यायलाई सेजनले सम्मान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।