काठमाडौं- लक्ष्मी बैंकले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण सुरु गरेको छ।
#DigitalDecember नाम गरिएको उक्त योजनाले विभिन्न पुरस्कार र छुटहरुको माध्यमद्वारा ग्राहकहरुलाई डिजिटल बैंकिङ प्रविधिहरुको प्रयोग गर्न प्रोत्साहन गर्ने बैंकले जनाएको छ। यो एक महिने अभियानको उद्देश्य ग्राहकहरूलाई बैंकको डिजिटल बैंकिङ सेवाहरूमा दर्ता तथा सक्रिय गराइ तिनको प्रयोग गर्न आकर्षित गर्नु रहेको बैंकको भनाइ छ।
'डिजिटल डिसेम्बरको यस संस्करण क्यूआर भुक्तानीको प्रवर्द्वन गर्नमा केन्द्रित छ र लक्की ड्रद्वारा आफ्ना ग्राहकहरुलाई क्यूआर भुक्तानी गर्न र व्यवसायी हरुलाई क्यूआरबाट लेनदेन गर्न प्रोत्साहन गर्दछ। यस योजनाअन्तर्गत, डिजिटल डिसेम्बरभरि हरेक हप्ता तीन भाग्यशाली क्यूआर व्यवसायीहरुले पाँच हजार रुपैयाँ नगद पुरस्कार जित्न सक्ने छन् भने प्रत्येक दिन पाँच जना भाग्यशाली क्यूआर भुक्तानी गर्ने ग्राहकले ५०० रुपैयाँसम्मको ५० प्रतिशत क्यासब्याक जित्न सक्नेछ।
साथै, यस योजनाको अवधिभरि, मोबाइल मनीका नयाँ प्रयोगकर्ताहरुले मोबाइल मनीमार्फत् १००० रुपैयाँभन्दा बढीको कुनै पनि कारोबार गर्ने ग्राहकहरुमध्ये ५०० जना भाग्यशाली ग्राहकहरुले डिसेम्बर महिनाको अन्त्यमा ५०० रुपैयाँ क्यासब्याक पाउन सक्ने छन्। यसका साथसाथै डिजिटल कारोबारलाइ थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभरि मोबाइल मनी सब्स्क्राइब गर्ने सबैले एक महिना सो सेवा नि:शुल्क पाउने बैंकले जनाएको छ।
डिजिटल डिसेम्बरको यो संस्करण सुरु भैसकेको छ। लक्ष्मी बैंकले यस अन्तर्गतका पुरस्कारका योजनाहरु यसै साता देखी सार्वजनिक गर्दै जाने छ। थप जानकारीका लागी लक्ष्मी बैंक को सामाजिक सञ्जालहरु हेर्न सक्नुहुनेछ भने लक्ष्मी बैंकको भाइबर कम्युनिटीमा सामेल हुन सक्नुहुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।