काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कात्तिक ११ गतेदेखि नेपाल बार एसोसिएसनले सुरू गरेको आन्दोलनमा कटौती गरेको छ। बारले मंगलबार एक विज्ञप्ति जारी गर्दै जिल्ला र उच्च अदालतमा पनि गोला प्रथाद्वारा पेसी तोक्ने व्यवस्था मिलाउन सर्वोच्च अदालत फूलकोर्टसँग माग गर्ने निर्णय गरेको छ।
त्यस्तै, उक्त संशोधन भई नआएसम्म विरोधस्वरुप जिल्ला, उच्च तथा विशेष अदालतहरुमा कालोपट्टी बाँधी दैनिक एक घण्टा धर्ना दिने बारले जनाएको छ। बाँकी समयमा व्यवसाय गर्न, गराउन सम्पूर्ण एकाईहरुलाई लेखि पठाउन नेपाल बारको बैठकले निर्णय गरेको छ। सोमबार बसेको बारको पदाधिकारी बैठकले देशभरका ९० बार इकाइ लागि यस्तो पत्र पठाएको छ।
बुधबारदेखि सर्वोच्च अदालतमा गोला प्रणालीमार्फत् पेसी सूची प्रकाशित हुने जानकारी आएकोले बारले राजीनामा मागिसकेको प्रधानन्यायाधीश जबराले गोलामा सहभागी नहुन तथा उनी सम्मिलित संयुक्त/पूर्ण/संवैधानिक इजलासमा नबस्न समेत आग्रह गरेको छ।
त्यस्तै, प्रधानन्यायाधीश जबरासँग बसेर सुनुवाइ नगर्न र उनीसमेत रहने इजलासमा बहस पैरवी नगरी सम्पूर्ण कानुन व्यवसायीहरूलाई नेपाल बारले आग्रह गरेको छ।
बारले सर्वोच्च अदालत आफैंले २०७८ साउन १७ गते मंसिर १ गतेदेखि जिल्ला तथा उच्च अदालतमा गोला प्रणालीमार्फत् पेसी तोकिने भनी पत्राचार गरेको बारले फेरि स्मरण गराएको छ। बारले प्रधानन्यायाधीश जबरामाथि भ्रष्टाचार गरेको, विचौलिया पालेको र न्यायिक विचलनको आरोप लगाउँदै राजीनामा माग गर्दै आएको थियो ।
कात्तिक ७ गतेदेखि प्रधानन्यायाधीश जबराको विरोधमा सर्वोच्चका न्यायाधीशहरु पनि आन्दोलित भएका थिए। न्यायाधीशहरुले गोलाप्रथाबाट पेसी तोक्ने भन्दै फुलकोर्ट बैठकमार्फत् निर्णय गरेर अदालत फर्किएका थिए। न्यायाधीशहरुले भोलिदेखि गोलाबाट पेसी तोकेर नियमित मुद्दाको सुनुवाइ गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।