काठमाडौं- साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार घटेको छ। यस दिन सेयर बजार मापक परिसूचक 'नेप्से' १.६४ अंकले घटेर २६२८.३७ विन्दुमा ओर्लिएको छ। सोमबार नेप्से २१.५१ अंकले घटेको थियो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि घटेको छ। सोमबार चार अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। आजको कारोबार तीन अर्ब आठ करोड ९० लाख ४१ हजार रुपैयाँमा खुम्चिएको छ।
आज कारोबारमा आएका २२५ कम्पनीका ६४ लाख ४७ हजार ४४९ कित्ता सेयर किनबेच भएका छन्। यस दिन ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने बढेको छ। सेन्सेटिभ परिसूचक ०.१८ अंकले बढेर ४९५.६३ विन्दुमा पुगेको हो।
मंगलबार कारोबारमा आएका दुई कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ। न्यादी जलविद्युत् कम्पनी र सामलिङ पावर कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको हो।
आज १३ मध्ये ६ उपसमूह बाहेक बाँकी सबै उपसमूहको सूचक घटेको छ। आज उत्पादन तथा प्रसोधन समूहका लगानकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। यस समूहका लगानीकर्ताले आज ०.८४ प्रतिशतले आफ्नो सेयर मूल्य गुमाएका छन्।
यस्तै यस दिन सबैभन्दा धेरै विकास बैंक समूहका लगानीकर्ताले कमाएका छन्। यस समूहको सेयर मूल्य यस दिन ०.८३ प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।