काठमाडौं- कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास फैलिरहेको समयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख रहेका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलालाई हटाएका छन्।
नयाँ भेरियन्टको जोखिम व्यवस्थापन र तयारी गर्नुपर्ने समयमा मन्त्री खतिवडाले संक्रमितको उपचारमा संलग्न चिकित्सकलाई अस्पतालबाटै हटाएका हुन्। टेकुस्थित सरुवा रोग अस्पतालका निर्देशक डा. बास्तोला कोरोना संक्रमितको उपचारमा सक्रिय थिए। संक्रमितको उपचारबाट नै वञ्चित गराउने गरी बास्तोलालाई सरुवा गर्ने निर्णय गरिएकोप्रति चौतर्फी विरोध हुन थालेको छ।
मन्त्री खतिवडाले बास्तोलालाई सरुवा रोग अस्पतालबाट हटाइएपछि सोही अस्पतालमा प्रमुख कन्सलट्यान्टका रुपमा कार्यरत डा. मनिषा रावलले अस्पतालको निर्देशकको जिम्मेवारी पाएकी छन्। डा. रावलले आजै अस्पतालको प्रमुखका रुपमा जिम्मेवारी सम्हालेकी छन्।
कोरोना महामारी सुरु भएदेखि नै संक्रमितको उपचारमा सक्रिय रहँदै आएका डा. बास्तोलालाई नयाँ भेरियन्टको त्रास र महामारीको तेस्रो लहर आउनसक्ने जोखिमबीच सरुवा रोग अस्पतालबाट हटाइएपछि स्वास्थ्यमन्त्रीको विरोध सुरु भएको छ।
कोरोना भाइरसको नयाँ भेरियन्ट यसअघिका भेरियन्टभन्दा बढी संक्रामक रहेको अनुमान गरिएको छ।
ओमिक्रोनको जोखिममा नेपाल पनि परेकोले सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनले समेत अनुरोध गरिसकेको छ। दक्षिण अफ्रिकामा पहिलोपटक रिपोर्टिङ भएको यो नयाँ भेरियन्ट बेलायत, जर्मनी, अस्ट्रेलियालगायतका देशमा देखिसकेको छ। भारतमासमेत यसको जोखिमलाई मध्यनजर गर्दै सरकारले आवश्यक तयारी गरेको छ।
विश्वका कतिपय देशले अन्तर्राष्ट्रिय यात्रुहरुलाई प्रतिबन्ध लगाउँदै व्यवस्थापन तयारी गरिरहेका छन्।
मन्त्री खतिवडाले आर्थिक चलखेलका आधारमा डा. बास्तोलालाई हटाउने निर्णय गरेको आरोप मन्त्रालयकै कर्मचारीहरुले लगाएका छन्। मन्त्रालयका कर्मचारीले नै डा. अनुपको सरुवामा आपत्ति जनाउँदै मन्त्री खतिवडामाथि 'आर्थिक चलखेल'को आरोपसमेत लगाएका छन्।
डा. बास्तोला गत असार १४ गते अस्पतालको निर्देशकमा नियुक्त भएका थिए। उनी अस्पताल निर्देशक भएको पाँच महिनामात्र पुगेको छ। अस्पताल निर्देशक भएपछि उनले अस्पतालमा थुप्रै सुधारका काम गरेका छन्। अस्पतालको ओपीडी विस्तार, फार्मेसी, बिरामीलाई सहजरुपमा सेवा दिन विस्तारित सेवालगायतका सेवा थप गर्दै गएका छन्।
यसका साथै उनले अस्पताल परिसरमा रहेको फोहरमैलाको व्यवस्थापन, कर्मचारीलाई बस्ने व्यवस्थालगायतका काम पनि गरेका छन्।
डा. बास्तोलाले अस्पतालको नाममा रहेका जग्गाको खोजी गर्दै ३०० शय्याको अस्पताल विस्तारको योजनासमेत अगाडि बढाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।