फाइल तस्बिर
काठमाडौं– विभिन्न देशबाट नेपाल फर्किने यात्रुबाट सोमबार एकैदिन १७ किलो काचो सुन बरामद भएको छ।
त्रिभुवन भन्सार विभानस्थल हुँदै विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोजनका मालबस्तुसम्बन्धी आदेश परिमार्जन भएपछि प्रहरीले पछिल्लो २४ घण्टामा ३३२ जना यात्रुको साथबाट १७ किलो काचो सुन बरामद गरेको हो।
सुन तस्करी गर्ने गिरोहले वैदेशिक रोजगारीबाट स्वदेश फर्किने नेपालीहरुलाई प्रयोग गरी सुन तस्करी गर्न थालेपछि त्रिभुवन विमानस्थलबाट भित्रिने यात्रुले निजी प्रयोजनका लागि ल्याउन पाउने मालवस्तुसम्बन्धी आदेशमा परिमार्जन गरिएको थियो।
विदेशबाट नेपाल आउने यात्रुले व्यक्तिगत प्रयोगको सुनको गहना ५० ग्रामसम्म मात्रै ल्याउन पाउने व्यवस्था छ। ५० ग्रामभन्दा थप २०० ग्रामसम्मको सुनका गहनालाई भन्सार महसुल लिइ जाँचपास गर्न सकिने व्यवस्था छ।
तर, सुन तस्करीमा संलग्नहरुले भने काचो सुनलाई गहनाको आकार दिइ (बालाजस्तो बनाइ) विदेशबाट स्वदेश फर्किने यात्रुलाई बोकाउने गरेका छन्।
काचो सुनलाई गहनाको आकार दिएर तस्करी गर्ने क्रम बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले त्यस्तो सुन बरामद गर्न थालेको हो।
सोमबार मात्रै काचो सुनलाई गहनाको आकार दिएर नेपाल भित्र्याउने ३३२ जनाबाट १७ किलो काचो सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ।
सोमबार यात्रुहरुबाट जफत गरिएको काचो सुनको राजस्व मात्रै १ करोड ६५ लाख रुपैयाँ बराबर हुन आउने भन्सार कार्यालयले जानकारी दिएको छ।
नयाँ नियमानुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै यात्रुहरुले व्यक्तिगत प्रयोगका लागि भन्सार महसुल छुटमा ल्याउनसक्ने मालवस्तु र परिणाम यस्तो छ:
–व्यक्तिगत प्रयोगको सुनको गहना ५० ग्रामसम्म
५० ग्राम भन्दा थप २०० ग्रामसम्मको सुनका गहनालाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने। सोभन्दा बढी परिमाणका सुनका गहना ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने। व्यक्तिगत प्रयोगका सुनका गहना बाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम १०० ग्राम सम्मलाई भन्सार महसुल लिइ जाँचपास गर्न सकिने। सोभन्दा बढी परिमाणको सुन ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने।
– व्यक्तिगत प्रयोगको ट्याबलेट वा ल्यापटप १ वटा (सोभन्दा बढी भएमा भन्सार महसुल लाग्ने
– व्यक्तिगत प्रयोगको मोबाईल फोन १ वटा (सोभन्दा बढी भएमा भन्सार महसुल लाग्ने)
– मदिरा १ लिटरसम्मको बोतल १ (सोभन्दा बढी परिमाणको मदिरा जफत गरिने)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।