काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिको त्रैमासिक समीक्षाले निजी क्षेत्रलाई निराश बनाएको बताएका छन्। आइतबार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समीक्षाको विषयमा कुरा गर्दै अध्यक्ष गोल्छाले नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको समीक्षामा गरिएको व्यवस्थाले निजी क्षेत्रलाई निराश बनाएको बताएका हुन्।
‘मौद्रिक नीतिको समीक्षाले निजी क्षेत्रले अहिलेको जोखिम मोल्नसक्ने नीतिको आउनुपर्ने माग गरेको थियो। तर, कोराना महामारीबाट प्रभावित उद्योग व्यवसायीको लागि मौद्रिक नीतिको समीक्षामा कुनै प्याकेज आएन। यसरी निजी क्षेत्रको माग सम्बोधन नहुँदा मौद्रिक नीतिको समीक्षाबाट निजी क्षेत्र निराश भएको छ,' अध्यक्ष गोल्छाले भने, 'मौद्रिक नीतिको समीक्षाले सरकारले लिएको सात प्रतिशत आर्थिक वृद्धिदरको जुन लक्ष्य छ, त्यो पूरा गर्नसमेत मुस्किल पर्छ।’
उनले निजी क्षेत्रले ठूलो चुनौती सामाना गरेर लगानी गरेका कारण अहिले अर्थतन्त्र आधारभूत रुपमा बलियो बन्दै गएको उल्लेख गरेका छन्। निजी क्षेत्र सरकारले सहयोग गरे कोरोना महामारीले निम्त्याएको जोखिम मोल्न तयार रहेको उनले बताएका छन्।
‘मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउनका लागि निजी क्षेत्र चुनौती सामना गरेर अगाडि बढेको छ। मौद्रिक नीतिको समीक्षापछि निजी क्षेत्र अझ 'नो रिक्स, नो गेन' भनेर नै जोखिम लिँदै अघि बढेको छ। जोखिम मोलेर काम गर्दा मात्रै प्रतिफल राम्रो आउँछ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।