काठमाडौं- पूर्वअर्थमन्त्री डा.रामशरण महतले नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सकारात्मक भएको बताएका छन्।
सोमबार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समीक्षाबारे प्रतिक्रिया दिँदै उनले कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आएको बताएका हुन्।
'कोरोना महामारीको कारण उद्योग व्यवसाय क्षेत्रमा संकट छ। उद्योग व्यवसाय नै पलायन हुने गरी ठूलो क्षति भएको छ। महामारीले उद्योग व्यवसायमा मात्रै होइन हरेक क्षेत्रमा क्षति गर्यो। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् उद्योग व्यवसाय चलायमान बनाउनको लागि राहतका कार्यक्रम तथा सुविधाहरु व्यवस्था गर्नु आवश्यक थियो,’ महतले भने।
उनले नेपालमा राष्ट्र बैंकले उद्योग व्यवसायलाई थप सेवा सुविधा सहज बनाउनका लागि केही वर्षदेखि मौद्रिक नीतिको व्यवस्था गरेको बताए। यसरी राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिका केही सकारात्मक पक्ष रहेको र मौद्रिक नीतिमार्फत् आएका व्यवस्थालाई सबैले स्वाभाविक मान्नुपर्ने उनको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।