काठमाडौं- मौद्रिक नीतिको समीक्षाले सेयर बजारमा पहिरो ल्याएको छ। समीक्षा सार्वजनिक भएपछिको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ८०.२९ अंकको गिरावट आएको हो।
नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियो। उक्त समीक्षामा लगानीकर्ताले हटाउन माग गरेको ४/१२ को क्याप (कुनै व्यक्ति वा संस्थाले सेयर धितो राखेर एउटा बैंक वा वित्तीय संस्थाबाट चार करोड रुपैयाँ र समग्र बैंकिङ च्यानलबाट १२ करोड रुपैयाँ मात्र ऋण लिन पाउने व्यवस्था) लाई राष्ट्र बैंकले यथावत् राखेको थियो। जसको प्रभाव आज सेयर बजारमा देखिएको हो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार ८०.२९ अंकले घटेर सेयर बजार मापक परिसूचक २६५१.४९ विन्दुमा ओर्लिएको छ। आज समग्र सेयर बजार २.९४ प्रतिशतले घटेको हो।
आज कारोबारमा आएको २३४ कम्पनीमध्ये १० कम्पनीको सेयर मूल्य सामान्य बढेको छ भने बाँकी कम्पनीको सेयर मूल्य ओरालो लागेको छ।
यस दिन ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १४.१९ अंकले घटेर ५०१.४६ विन्दुमा ओर्लिएको छ।
आज कूल पाँच अर्ब ८३ करोड ५१ लाख ३५ हजार रुपैयाँ बराबरको एक करोड १९ लाख तीन हजार २०२ कित्ता सेयर खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।
आज सबै समूहका सूचक घटेका छन्। विकास बैंक, व्यापार, हाइड्रोपावर लगायतका समूहमा भारी गिरावट आएको छ।
आज सबैभन्दा धेरै आईसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ९.७८ प्रतिशतका दरले कमाएका छन्। यस्तै सबैभन्दा धेरै हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ८.४९ प्रतिशतका दरले गुमाएका छन्।
सबै भन्दा धेरै गुमाउने दोस्रो कम्पनी मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन्।
२९ करोड ८१ लाख रुपैयाँभन्दा बढीसहित खरिद-बिक्री रकममा महालक्ष्मी विकास बैंक सबैभन्दा अघि छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र नेसनल हाइड्रोपावर परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।