काठमाडौं– बलिउड अभिनेता सलमान खान र आयुष शर्मा स्टारर फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’ले प्रदर्शनको पहिलो दिन उत्साहजनक व्यापार गरेको छ।
२६ नोभेम्बर अर्थात शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले सुरुवातको एक दिनमा साढे चार करोड भारतीय रुपैयाँ बराबरको व्यापार गरेको छ।
‘अन्तिम’लाई लिएर भारतसँगै नेपाललगायतका देशमा चर्चा भएको छ। सलमान खानका प्रशंसकहरुले यो फिल्मलाई लिएर निकै उत्साहजनक प्रतिक्रिया दिइरहेका छन्। अर्कातिर, फिल्मका समीक्षकहरुले भने यसलाई शनिबार पनि राम्रो व्यापार गर्ने बताएका छन्।
अर्कातिर, अन्तिम प्रदर्शन हुनुभन्दा एक दिनअघि बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म ‘सत्यमेव जयते २’ ले भने फितलो व्यापार गरेको छ। अन्तिमको प्रदर्शन सुरु भएपछि त झन् सत्यमेव जयते २ को व्यापारमा ५० प्रतिशतसम्मको गिरावट आएको बताइएको छ।
जोन अब्रहाम मुख्य भूमिकामा रहेको फिल्म ‘सत्यमेव जयते २’ ले प्रदर्शनको पहिलो दिन २.७५ करोड भारतीय रुपैयाँ बराबरको व्यापार गरेको थियो।
अहिले भने यो फिल्मको व्यापारमा गिरावट आएको छ। सलमानका प्रशंसकहरुको उत्साहका कारण जोनको फिल्म छायामा परेको भारतीय समीक्षकहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।