इच्छाराज तामाङ, फाइल तस्बिर
काठमाडौं– संगठित अपराध र ठगी मुद्धामा मुछिएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई पक्राउ गर्न प्रहरीले विशेष टोली परिचालन गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख, डीआईजी धीरज प्रताप सिंहले यो प्रकरणको मुख्य अभियुक्त नै सिर्जना भएकाले उनलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको बताए।
‘मुख्य व्यक्ति नै सिर्जना भएकाले उनीसहित फरार २४ जना अभियुक्तलाई पक्राउ गर्न विशेष टोली परिचालन गरेका छौं’, सिंहले भने, ‘उनीहरु भाग्न सक्ने नाकाहरुमा पनि विशेष व्यवस्था गरिएको छ।’
सीआईबीले शुक्रबार नै इच्छाराज र उनीसँग जोडिएका व्यक्तिहरुको संगठित अपराध र ठगी सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
करिब दुई महिना लामो अनुसन्धानपछि सीआईबीले प्रतिवेदन बुझाएको हो। इच्छाराजलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो।
उनीसहित अरु ११ जना पनि पक्राउ परेका थिए। सुरुमा ठगीको कसूरमा पक्राउ परेका तामाङको संगठित ठगी उजागर भएपछि संगठित अपराधमा समेत अनुसन्धान अघि बढाइएको थियो। प्रहरीले इच्छाराजलाई ८ वर्ष कैद र बिगो बराबर ५ अर्ब ५९ करोड रुपैयाँ जरिबाना माग गर्न सिफारिस गरेको छ।
यसबीचमा प्रहरीमा आउनसक्ने पीडितका निवेदनसमेत संलग्न गरेर सरकारी वकिललाई पठाउने सीआईबी प्रमुख डीआईजी सिंहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।