काठमाडौं– कुटपिट गरी आफ्ना मामाको हत्या गरी फरार भएका १ जनालाई प्रहरीले पक्राउ गरेको छ।
धादिङको थाक्रे गाउँपालिका–४ घैरेनी स्थायी घर भइ काठमाडौंको चन्द्रगिरी नगरपालिका–५ किसिपिडी बस्दै आएका ३९ वर्षीय राजु पुलामी मगरको हत्या आरोपमा प्रहरीले उनका भान्जालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–४ घर भएका १९ वर्षीय मिलन लुङगेनी छन्।
प्रहरीका अनुसार मंसिर ८ गते (बुधबार) राजुलाई कुटपिट गरी मिलन फरार भएका थिए। भान्जा मिलनको कुटपिटबाट गम्भीर घाइते राजुको दोस्रो दिन (मंसिर ९ गते, बिहीबार) उपचारका क्रममा मृत्यु भएको थियो।
राजुको मृत्युपछि प्रहरीले मिलनको खोजी सुरु गरेको थियो। खोजीका क्रममा महानगरीय अपराध महाशाखाको टोलीले धादिङको थाक्रे गाउँपालिका–४ बाट पक्राउ गरेको हो।
पक्राउ परेका मिलनलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको महाशाखाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।