काठमाडौं- नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको व्यवस्थालाई यथावत् राख्दै मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो।
राष्ट्र बैंकले समीक्षामार्फत् सेयर बजारलाई प्रभाव पार्ने गरी नीति परिवर्तन गरेको छैन।
लगानीकर्ताहरुले मौद्रिक नीतिको समीक्षामार्फत् सेयर धितो कर्जामा यसअघि गरिएको व्यवस्था परिमार्जन गर्नुपर्ने माग गर्दै आएका थिए। राष्ट्र बैंकले उक्त मागको सम्बोधन गरेको छैन।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एक व्यक्ति वा संस्थाले एक बैंकबाट चार करोड र समग्र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँसम्ममात्रै सेयर धितोमा कर्जा लिन पाउने व्यवस्था गरेको थियो। त्रैमासिक समीक्षामार्फत् यो व्यवस्थामा परिवर्तन हुने अपेक्षा गरिए पनि राष्ट्र बैंक यसमा मौन बसेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।