काठमाडौं– २५ कात्तिकदेखि सुरु भएको राष्ट्रिय जनगणना ९ मंसिरमा सम्पन्न भएको छ । जनगणनामा लिपुलेक, लिम्पियाधुरा, कालापानी र छिटपुट घरपरिवारबाहेक सबै जनसंख्या सहभागी भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
मंसिर मसान्तसम्म देशभरबाट तथ्यांक भरिएका प्रश्नावली जम्मा गर्ने र पुसदेखि डाटा इन्ट्री थालिने विभागले जनाएको छ। डाटा इन्ट्र सुरु गरेको दुई महिनाभित्रै प्रारम्भिक तथ्यांक सार्वजनिक गर्ने विभागको तयारी छ ।
वर्ष दिनभित्र जनगणनाको मुख्य तथ्यांक समेटिएको राष्ट्रिय प्रतिवेदन तयार गरिने जनाइएको छ। देशभित्र रहेका सबै घरपरिवार तथा व्यक्तिहरूको तोकिएको समयसीमाभित्र गणना गर्नका लागि करिब ४० हजार गणक तथा आठ हजार पाँच सय सुपरिवेक्षक परिचालन भएका थिए।
जनगणनामा सामाजिक, भाषा, धर्म, जात, लिंग, वातावरणीय, जग्गा–जमिनको विवरण संकलन गरिएको छ। त्यसका साथै आर्थिक विवरण, शैक्षिक योग्यता, स्वास्थ्यसम्बन्धी लगायत तथ्यांक संकलन गरिएको छ।
यसअघि २५ जेठदेखि ८ असारसम्म हुने भनिएको जनगणना कोभिड–१९ का कारण स्थगित गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।